रामकुमार श्रेष्ठ ।
नवलपरासी, २९ चैत्र ।
नवलपरासीको चौथो डिभिजन मुख्यालय अन्तरगत नवलपरासीको हात्तीखोरमा असन्तुष्ट पक्षधर लडाकुहरु तोडफोड र आगजनीमा उत्रेका छन् । शिविरमा रहेका सामग्रीहरु विक्री गरेको हरहिसाव सार्वजनिक गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका असन्तुष्ट माओवादी लडाकुहरुले शिविर भित्रको तीन वटा सवारी साधनमा गएराति आगजनी र तोडफोड गरेका छन् । त्यसैगरी उनीहरुले शिविर भित्र रहेको प्रतिक्षालय र घरहरुमा पनि तोडफोड र आगजनी गरेका छन् । त्यसैगरी युद्धमा प्रयोग गरिएको युद्ध सामग्रीहरु संकलन गरिएर बनाइएको संग्राहालयमा पनि उनीहरुले आगलागी गरेका छन् । सो क्रममा संग्रालयमा राखिएका बमहरु समेत विस्फोट भएको थियो । आगजनीबाट शिविरमा रहेका अधिकांश भौतिक सामग्री जलेर नष्ट भएको छ । पछि कावासोतीबाट गएको प्रहरी र सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो भने शिविरमा भएको आगजनी नियन्त्रणका लागि चितवनबाट तीन वटा दमकल ल्याएर प्रयोग गरिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । त्यसैगरी माओवादी शिविर, शिविरमा रहेको माओवादी सेना हातहतियार नेपाली सेनाको जिम्मा लगाउने निर्णयसंगै नवलपरासीमा रहेको मुख्यालय र सहायक शिविरमा नेपाली सेना हिजो राति नै पुगेको छ । बज्रदल गणका क्याप्टेनको नेतृत्वमा ३९ जनाको टोलि हात्तिखोर पुगेको छ । । त्यसैगरी झ्यालटुंग डांडामा पनि नेपाली सेना पुगिसकेको छ । अहिले शिविरको सम्पूर्ण सुरक्षाको जिम्मा नेपाली सेनाले लिईसकेको छ । चौथो डिभिजन मुख्यालयमा झ्यालटुंग डांडामा रहेको शिविरमा रहेको हातहतियार पनि गनेर राति नै सेनाको जिम्मा लगाइएको छ । त्यसैगरी सात वटै डिभिजन र सहायक शिविरहरुमा पनि नेपाली सेनाको टोली पुगेको छ ।