चौध वर्षपछि भलिबलमा नयाँ नेतृत्व
२८ चैत, काठमाडौं । नेपाल भलिबल संघले चौध वर्षपछि नयाँ नेतृत्व पाएको छ । काठमाडौंको रविभवनस्थित इसानी क्लबमा मंगलबार सम्पन्न संघको पाँचौं साधारणसभाबाट दानबहादुर तामाङ चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।अघिल्ला कार्यसमितिका अध्यक्ष गंगाबहादुर मगरले उम्मेदवारी दिएनन् । तामाङको अध्यक्षतामा साधारणसभाले २१ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन गर्यो । अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष बाहेक सबै पद निर्विरोध भए । तामाङले ८० मत ल्याए । उनका निकत्तम प्रतिद्वन्द्वी गजेन्द्र ताम्लीले ३२ मत प्राप्त गरे । यसअघि तामाङ वरिष्ठ उपाध्यक्ष तथा ताम्ली उपाध्यक्ष थिए ।अध्यक्षमा बालगोपाल श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएकोमा पछि उनले नाम झिकेका थिए । दुई उपाध्यक्षका लागि तीनको उम्मेदवारी परेकोमा उपेन्द्र यादव र वीरेन्द्र खड्का विजयी भए । उपेन्द्रले ८१ तथा अघिल्लो कार्यसमितिका महासचिव वीरेन्द्रले ८१ मत पाए । उपेन्द्रले निर्वाचित पदाधिकारी मध्ये सबैभन्दा बढी मत हासिल गरे । पराजित उपाध्यक्ष टी.एल. चौधरीले ३४ मत प्राप्त गरे । एक महासचिवका लागि सुरुमा तीनले उम्मेदवारी दर्ता गराएकोमा रोशन श्रेष्ठले नाम फिर्ता लिएपछि जितेन्द्रबहादुर चन्द र अघिल्लो कार्यसमितिका कोषाध्यक्ष बुद्धिबहादुर कटुवालबीच प्रतिस्पर्धा भएको थियो । चन्द ६४ मतसहित विजयी भए । कटुवालले ४९ मत पाए ।एक कोषाध्यक्षका लागि निरोज मास्के, पहलसिंह घर्ती मगर तथा माधव केसीबीच भिडन्त भएको थियो । नेपाल भलिबल संघ, महिला कमिसनकी अध्यक्ष समेत रहेकी मास्केले सर्वाधिक ५४ मत ल्याउदै बाजी मारिन् । मगरले ३६ तथा केसीले १९ मत हासिल गरे । प्रथम उपाध्यक्षमा लीलबहादुर थापा मगर तथा द्वितीय उपाध्यक्षमा यामबहादुर गुरुङ निर्विरोध भए । द्वितीय उपाध्यक्षबाट ऐनबहादुर शाहीले नाम फिर्ता लिएका थिए । सचिवमा निर्विरोध हुनेमा रामनाथ भण्डारी, मदन खड्का तथा टंकसिंह ठकुरी -टीएस) रहे । ज्योति केसी, रोहितचन्द्र खड्का, चन्द्रकुमार गिरी, श्रीधर शर्मा, तेजप्रताप सुब्बा, थमन गुरुङ, श्यामकृष्ण श्रेष्ठ, सुनकेशरी माली, वरम महत, भीम ओली तथा मनवीर छन्त्याल सदस्यमा चुनिए । छन्त्याल ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष हुन् जुन क्लबले विगत सात वर्षदेखि आकार्षक नगद पुरस्कारको महिला डबल लिग भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।११ सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएको चारले अन्तिममा नाम झिकेका थिए । सोमबार सुरु भएको साधरणसभाको उद्घाटनदेखि नयाँ नेतृत्व चयन गर्ने सबै प्रकृया पूरा हुँदा झन्डै १६ घण्टा समय लागेको थियो । नवनिर्वाचित अध्यक्ष तामाङले पूरानो नेतृत्वले के गर्यो के गरेन भन्ने सबै कुरा बिर्सेर वर्तमान टिमलाई बलियो बनाई भलिबलको विकासमा लागी पर्ने प्रतिबद्धता व्यक्त गरे । महासचिव चन्दले भलिबललाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिए ।साधारणसभामा केन्द्रका २९, ७५ जिल्लाका एकका दरले ७५, पाँच विकास क्षेत्रका ३ का दरले १५ तथा रेप|mी, प्रशिक्षक, खेलाडी र महिला कमिसनका २-२ सहित ८ गरी कूल १ सय २७ प्रतिनिधि सहभागी थिए ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com