खोटाङ, १७ चैत । गाउँमा खानेपानीको अभाव भएपछि राजापानीमा पानी ल्याउने पालो बाँडिएको छ ।
गाउँमा भएका कुवा, धारा, पँधेरा र खोला सुकेपछि राजापानी–१ र ४ मा स्थानीय खहरे खोलाको दोभानमा रहेको एउटा कुवाबाट पानी ल्याउने पालो बाँडिएको हो । पिउने पानीको स्रोत सुकेपछि स्थानीयवासीले गाउँको पुछारमा रहेको बेलबोटे र गैरीखोलाको खहरेमा बनाइएको कुवाबाट पानी ल्याउने पालो बाँडेको स्थानीय दक्ष मगरले बताउनुभयो ।
उहाँका अनुसार चार घर सार्की, पाँच घर दमार्इं, १३ घर मगर र अन्य जाति गरी २९ घरपरिवारको बसोबास रहेको गाउँमा रहेको कुवामा पानी लिन जानेको बाक्लो भिड लाग्ने गरेको छ । गाउँमा बाँकी रहेको एउटा कुवाबाट पानी ल्याउन गाउँलेबीच आलोपालो पर्खंदा कहिलेकाहीँ राति कुवामै बास बसेर भोलि बिहान पानी लिएर फर्किनुपर्ने बाध्यता रहेको राजापानीका पूर्ण खड्काले बताउनुभयो । गाउँमा पानीको हाहाकार मच्चिएपछि नुहाउन र लुगा धुनका लागि हप्तामा प्रतिघर एकजनाले मात्र नुहाउन पाउने नियम लागु गरिएको छ ।
पानीको स्रोत सुकेपछि जिल्लाकै सुक्खाग्रस्त क्षेत्रमा पर्ने राजापानीमा खानेपानीको समस्या भएको हो । गाउँमा भएका सबै कुवा, धारा र पँधेरा सुकेर गएपछि राजापानी–१ र ४ का गैरी खोला, ठूलो चौर, फुस्रे सल्ला र मङ्सिरे टोलमा खानेपानीको समस्या भएको हो । हाल दुई वडाका स्थानीयवासी तीन घन्टा लगाएर पानी ल्याउन बाध्य बनेका छन् ।