Responsive Ad Slot

latest

आँपको रूखमा गवारोको प्रकोप I

Friday, March 30

/ by Admin BHOLA THAPA


राजविराज (सगरमाथा), १७ चैत । सप्तरीमा यस वर्ष आँपको रूखमा गवारो किराको प्रकोप देखिएपछि कृषक चिन्तित भएका छन् ।

मुलुकमै बढी क्षेत्रफलमा आँप बगैँचा भएको सप्तरीमा यस वर्ष मनग्ये आँप फल्ने आशा गरिएकामा गवारो किराको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । ‘आँपको राजधानी’ सप्तरीमा रहेका रूखमध्ये २५ प्रतिशत गवारोबाट सङ्क्रमित भइसकेको जिल्ला कृषि विकास कार्यालय सप्तरीेले जनाएको छ । कार्यालयले गरेको अध्ययनअनुसार जिल्लाका कञ्चनपुर, धर्मपुर, ठेलिया, रूपनगर, सीतापुर, खोक्सर प्रवाहा, कल्याणपुर, कडरबोना, जन्डौलसहितका गाविसमा आँपका रूखमा गवारोको प्रकोप देखिएको छ ।

अध्ययन टोलीका प्रतिनिधि एवम् कार्यालयका प्राविधिक सहायक सुब्बालाल मण्डलले गवारोको माउ पुतली आँपको फेद तथा हाँगामा प्वाल पारेर भित्र प्रवेश गर्ने बताउनुभयो । उहाँका अनुसार आँपको फेददेखि हाँगाको कलिलो भागलाई धुलोजस्तै मसिनो पारेर बाहिर फाल्दै भित्री भागलाई खुकुलो पारेपछि बोट सुक्ने गर्छ ।

सप्तरीमा यस वर्ष अत्यधिक मञ्जरी (फूल) लागे पनि केही दिनअघि परेको सामान्य पानीले सो मञ्जरीमा मधुवा किराको समेत ठाउँ–ठाउँमा प्रकोप देखिएको छ । जिल्लामा पाँच हजार चार सय हेक्टर जग्गामा गरिएको आँपखेतीबाट बर्सेनि रु एक अर्बभन्दा बढीको आँप उत्पादन हुने गरेको छ । आँपखेतीको क्षेत्रफलमध्ये व्यावसायिक रूपमा चार हजार तीन सय १० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको सप्तरीमा पाँच लाख ६० हजारभन्दा बढी आँपका रूख रहेको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ ।

गवारोले गर्दा बढी उत्पादन हुने जिल्लाको उत्तरी भेगमा आँपका हाँगा सुक्ने समस्या देखिएको छ भने मधुवा किराले फल लाग्नु अगावै मञ्जरी फूल सुकाइदिने गरेको छ । खासगरी १५ वर्षभन्दा बढी पुराना आँपका रूखमा देखिने गरेको यो समस्या समाधान गर्न कृषक र सरकारीस्तरबाट ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकतामा प्राविधिक मण्डलले जोड दिनुभयो । उहाँले समस्या समाधानतर्फ ठोस पहल नभएमा आउने १५–२० वर्षमा जिल्लामा हाल रहेका आँपका रूख सखाप हुने सम्भावना व्यक्त गर्नुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI