Responsive Ad Slot

latest

किङफिसरद्वारा नेपाल उडान बन्द I

Wednesday, March 14

/ by Admin BHOLA THAPA
काठमाडौ, १ चैत्र । लगातार घाटा बेहोर्दै आएको भारतीय विमान कम्पनी किङफिसरले नेपाल उडान कटौती गरेको छ । सेन्टर फर एसिया प्यासिफिक एसिया (कापा) को वेबसाइट अनुसार मार्चदेखि कम्पनीले नेपाल लगायत बैंकक, ढाका र लन्डन उडान कटौती गरेको हो ।

आर्थिक समस्याले सेवा सञ्चालन गर्न नसक्ने स्थितिमा पुगेको किङफिसरले दुई सातादेखि काठमाडौं उडान गरेको छैन । 'पर्यटकीय मौसम सुरु भएकाले अकुपेन्सी (यात्रु चाप) समस्या थिएन,' नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, 'कम्पनी डुब्न लागेकाले सेवा सञ्चालन गर्न नसकेको हो ।' किङफिसरले दिल्ली-काठमाडौं दैनिक उडान गर्दै आएको थियो । कम्पनीले २५ मार्चदेखि उडान सुचारु गर्ने जनाउँदै आएको छ । तर नियमित उडान हुनेमा शंका रहेको ती अधिकारीले बताए ।

कापा वेबसाइट अनुसार उडान कटौती गरेको गन्तव्यका लागि विमान कम्पनीले अनलाइन बुकिङ भने खुलै राखेको छ । कम्पनीले यसअघि सिंगापुर उडान बन्द गरिसकेको छ । कोलकाता-बैंकक र दिल्ली-लन्डन १० अपि्रलदेखि र मुम्बई-लन्डन उडान १६ अपि्रलदेखि बन्द हुने भएको छ ।

मुम्बई- हङकङ उडान पनि सोमबारदेखि बन्द भएको छ । यो गन्तव्यका लागि अपि्रल ४ सम्म उडान नगर्ने निर्णय कम्पनीले गरेको छ । उडान रद्द गरेपछि किङफिसरको अन्तर्राष्ट्रिय सन्जाल साँघुरिएर १० गन्तव्यमा सीमित भएको हवाई सेवा सम्बन्धी उडानतालिका लगायतको सूचना संकलन गर्ने संस्था इनोभाटाले जनाएको छ । गत वर्ष पनि घाटामै चलेको किङफिसर लगायत २०१२ को ३ महिनामा सरकारी विमान कम्पनी एयर इन्डिया, जेट एयरवेज र स्पाइस जेट समेत घाटामा चलिरहेका कापाको वेबसाइटमा सार्वजनिक समाचारमा छ ।

पारिश्रमिक नदिएको भन्दै अधिकांश पाइलटले सोमबार नै कम्पनी छोडेपछि किङफिसरको ४० भन्दा बढी उडान रद्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनिश्चित भविष्य र पारिश्रमिक समयमा नपाएकाले झन्डै ३ सय पाइलटले किङफिसर छाडिसकेका छन् । उडान सुचारु गर्न कम्पनीका प्रमुख कार्यकारी संजय अग्रवालले पाइलटहरूलाई तिर्नुपर्ने सबै रकम छिट्टै उपलब्ध गराउने आश्वासन दिएका छन् ।

गत वर्षको अपि्रलमा कम्पनीले सेयर मूल्यको ५७ प्रतिशत गुमाउनुका साथै सेनसेक्समा पनि ८ दशमलव ५ प्रतिशतको घाटा खाएको थियो । यसअघि कम्पनीको सेयर मूल्य २१ करोड अमेरिकी डलर थियो । सन् २०१२ को तीन महिनामा विमान कम्पनीको अकुपेन्सी अघिल्लो वर्षको यही अवधिको तुलनामा ७४ प्रतिशतले घटेको छ । त्यस्तै यात्रुबाट प्राप्त हुने आम्दानीमा १६ प्रतिशतले गिरावट आएको कम्पनीको आर्थिक प्रतिवेदनमा छ ।स्रोत-कान्तिपुर अनलाइन
Don't Miss
© all rights reserved
made with by netKUTI