दीपक पौडेल /दोहा
‘बल हैन पासा बुद्वि लगा, बुद्वि’ साँच्चै बुद्वि लगाएर बनाइएको प्रमाणित भएको छ– चलचित्र लुट । त्यसैले नै देश विदेशमा यसको ब्यापारको परिधि अहिलेसम्मकै फराकिलो भएको छ । उत्कृष्ट ब्यापारका कारण हाल चलचित्र बजारको शिर्ष चर्चा बनेको नेपाली चलचित्र लुट अव कतारवासी दर्शकले पनि हेर्न पाउने भएका छन् । तर, यसका लागि २३ मार्चसम्म प्रतिक्षा गर्नुपर्ने भएको छ । शुक्रवार, २३ मार्चमा दोहा सिनेमा हलमा ‘लुट’ को गल्फ प्रिमियर गरिने प्रदर्शन ब्यवस्थापक लक्ष्मण खतिवडाले जनाएका छन् ।
ब्यापक घरेलु दर्शक बटुल्दै चलचित्र बजारकै लागि उत्साह थपेको बहुचर्चित लुटले अष्ट्रेलिया र हङकङमा पनि यथेष्ट दर्शक जम्मा गर्न सफल भएपछि खाडीको यात्रा तय गरेको हो । ‘लुटको ख्यातिले नेपाली चलचित्र क्षेत्रमै एकाएक नयाँ उत्साह ल्याइदिएको छ’ ब्यवस्थापक खतिवडाले भने– ‘गुणस्तरिय र जीवन्त नेपाली चलचित्र पनि बन्छन् भन्ने प्रमाणित गरिदिएका कारण कतारमा यसको ब्यापक माग देखिएकोले प्रदर्शनको योजना बनाएका हौं ।’
पुराना कथा शैली र पुरानै ढा“चामा मात्र चलचित्र निर्माण हु“दै आएपछि नेपाली चलचित्रका दर्शकलाई मोहभंग हुँदै गएको अवस्थामा भिन्न कथा लिएर आएको लुटले देश–विदेशमा राम्रै लुट मच्चाउन सफल भएपछि कतारमा प्रदर्शनीका लागि उर्जा मिलेको खतिवडाले बताए । युवा निर्देशक निश्छल बस्नेतले बढ्दो आधुनिकतासंगै युवाजमातमा आएका परिवर्तनको एक दृश्यलाई ‘लुट’मा सिर्जनशिल ढंगले प्रस्तुत गरेका छन् । नायकहरूको सकारात्मक भुमिका र अन्ततः खलनायकमाथिको विजयका थोत्रा कथालाई केहि परिमार्जन गर्दै निर्देशक बस्नेतले बैकल्पिक धारको ब्यवसायीक चलचित्र बनाएर नेपाली रजतपटलाई पनि छुट्टै दिशानिर्देश गरेका छन् । उनको चलचित्रले हलिउड र बलिउडका मेघाबजेटका हाइफाई चलचित्रलाई पनि माथ दिएर नेपाली दर्शकको मात्रै होइन, चलचित्र समिक्षकको पनि राम्रैसंग मन जितेको छ । त्यसो त हङकङ, डेनमार्कमा पनि यथेष्ट दर्शक बटुलेको लुट ४ मार्चमा अमेरिका पनि जाँदैछ भने १२ मार्चमा विरलै नेपाली चलचित्र पुग्ने इजरायलमा पनि प्रदर्शन हुँदैछ ।
विश्वभरिका नेपालीको ब्यापक मागका कारण ब्यस्त रहेका निर्देशक बस्नेत भने खाडीका दर्शकलाई विशेष ठान्छन् । खाडीका दर्शक सहि दर्शक हुन् भन्ने उनको ठम्याई रहेको र उनी कतार प्रिमियरमा सहभागी हुने ब्यवस्थापक खडिवडाले बताए । लुटको प्रोमोशनका लागि निर्देशक बस्नेतसंगै नायिका ऋचा शर्मा पनि कतार आउने खडिवडाले जनाएका छन् । निर्देशक बस्नेत र नायिका शर्माले दर्शकसंगै बसेर चलचित्र हेर्ने र दर्शकको प्रतिकृया पनि संकलन गर्ने खडिवडाले स्पष्ट पारे । खतिवडालाई सो प्रिमियरका लागि स्याङजा सहयोग समाजले समन्वय गरिरहेको छ ।
चलचित्र लुटमा सौगात मल्ल, कर्म, दयाहाङ राई, प्रतिकराज न्यौपाने, सुशिलराज पाण्डे, प्रविण खतिवडा, ऋचा शर्मा, सिर्जना सुब्बाको अभिनय जीवन्त रहेको छ । ‘उध्रेको चोली..’ बोलको गितमा नायीका सुष्मा कार्कीको आइटम डान्स पनि सो चलचित्रको आकर्षण बनेको छ ।