काठमाडौं,८ चैत । “नेपाली कला, सीप र स्वाभिमान, रोजगारी र समृद्धि हाम्रो अभियान” भन्ने नाराका साथ २३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । घरेलु तथा साना उद्योग विकास समितिद्वारा भृकुटीमण्डपमा आयोजना गरिने प्रदर्शनीमा ७५ वटै जिल्लाका उद्यमीको सहभागिता रहनेछ ।
१२ दिनसम्म चल्ने प्रदर्शनीमा पूर्वेली ढाका, बाँसजन्य उत्पादन, अल्लो प्राकृतिक रेसाबाट उत्पादित बस्तु, छालाजुत्ता, हस्तकला, खाद्य वस्तु एवं अर्गानिक चिया र कफी, हाते कागज तथा ऊनी धागो र काठबाट उत्पादित वस्तुका २ सय ६० स्टल राखिनेछ । प्रदर्शनीको पाँच लाखले अवलोकन गर्ने तथा चार करोडबराबरको कारोबार हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा उत्कृष्ट उद्यमीलाई लघु, घरेलु तथा साना उद्यमी पुरस्कारबाट पनि पुरस्कृत गरिने बताइएको छ ।