काठमान्डौ २९ फागुन ।
नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सेना समायोजनमा क्रान्तिकारी कदम चाल्न सके प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार जेठ १४ सम्म कायम रहने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज गरेको विशेष साक्षात्कारमा नेता नेपालले आफूसँग भएको कुराकानीको आधारमा प्रधानमन्त्री अगाडि बढे जेठ १४ गतेसम्म यही सरकार कायम रहने बताउनुभयो । हिजो तीन दलबीच भएको सहमतिअनुसार समायोजनको प्रक्रिया अगाडि बढाउन क्रान्तिकारी ढंगले प्रधानमन्त्रीले निर्णय गर्नुपर्ने नेता नेपालको सुझाव छ ।
जेठ १४ सम्म अहिलेकै सरकार कायम रहने सम्भावना औल्याए पनि उहाँले प्रधानमन्त्री भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार भने नबन्ने ठोकुवा गर्नुभयो । नेता नेपालले संविधान जारी गर्दा र निर्वाचन गराउन भने दुई वटा नयाँ सरकार बन्ने सम्भावना मुलुकमा रहेको पनि बताउनुभयो ।
आफूहरुको केन्द्र शान्ति र संविधान रहेको उल्लेख गर्दै नेता नेपालले अहिलेकै अवस्थामा सरकारको औचित्य सकिएको भए पनि सरकार ढाल्न भने अहिले आफूहरुलाई हतार नभएको दाबी पनि गर्नुभयो ।