पोखरा २१ फागुन ।
जनमोर्चा नेपालले गरेको गण्डकी धौलागिरी बन्दले कास्की तथा आसपासका जिल्लाको जनजिवन प्रभावित वनेको छ । वन्दले गण्डकी धौलागिरीका सबै जिल्लामा विहानै देखि यातायातका साधन, कलकारखाना, पसलवजार, शिक्षणसंस्था ठप्प रहेका छन् ।
बन्दमा प्रेस, एम्वुलेन्स, शव वहान गाडी, दुध तथा पानीका ट्याङ्कर जस्ता अत्यावस्यक साधनलाई भने चल्न दिने जनाएको छ । जनमोर्चा नेपालले संघीयता खारेजीको माग गर्दै गण्डकी धौलागीरी बन्द गराएको हो ।
लामो समयदेखि संघीयताको विरोधमा गतिविधि गर्दै आएको जनमोर्चाले संघीयता खारेज गरी अखण्ड नेपालको संविधान जारी गर्न, जेठ १४ पछि संविधानसभाको कार्यकाल फेरि नथप्न तथा स्थानीय निकायको निर्वाचन गराउन माग गर्दै दुई अञ्चल बन्दको घोषणा गरेको हो ।
‘हाम्रो मुख्य माग संघीयता खारेज गरेर अखण्ड नेपालको संविधान जारी गर्नुपर्छ भन्ने हो’, विग एफ एमको समसामहिक कार्यक्रम विग टकमा आज विहान कुराकानी गर्दै जनमोर्चा कास्कीका अध्यक्ष मदनमुरारी घिमिरेले भने – ‘संघीयता मुलुकका लागि आवश्यक छैन । यसले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र एकता खल्बल्याउने काम गर्छ ।’
घिमिरेले विगत १४ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेको तथा १० वर्षयता स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा भ्रष्टाचार बढेका कारण निर्वाचनको माग अघि सारिएको वताए । जनमोर्चाले चैत १० गते सेती र महाकाली तथा चैत २८ गते उपात्यकासहित बागमती अञ्चल बन्दको घोषणा गरेको छ ।