काठमाडौ, ८ चैत। मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को मंगलबार बसेको संसदीय दलको बैठकले शान्ति प्रकृया अन्तर्गत सेना समायोजनको काम चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । शान्ति प्रकृयामा केही दिनदेखि देखिएको गतिरोध र अनिर्णयको स्थिति चिन्ताजनक रहेको उल्लेख गर्दै समाधानको बाटो पहिल्याउन लोकतान्त्रिकले शान्ति प्रकृयाबारे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र अरू पार्टीबीच छलफल गरी समन्वय गरेर जाने निर्णयसमेत गरेको छ ।
मुलुकमा संघीयताबिनाको संविधान ल्याउने षडयन्त्र भइरहेको आरोप लगाउँदै लोकतान्त्रिकले संघीयता, पहिचान र समावेशी राज्य पुनर्संरचनाबिनाको संविधान अस्विकार्य हुने निर्णयसमेत गरेको छ ।
स्वायत्त मधेश प्रदेशसहितको संघीय संविधान चैत मसान्तभित्र आउने सुनिश्चितता नभए पार्टीले जस्तोसुके कठोर कदम उठाउन बैठकले माग गरेको छ ।
लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीका अनुसार कठोर निर्णयअन्तर्गत फोरम सरकारवाट बाहिरिनसमेत सक्छ । फोरम, लोकतान्त्रिकले हाल उठदै गरेको संघियता विरोधी स्वरुहरुको लागि मधेश जागरण अभियान शुरु गर्ने र यसका लागि मधेशमा टोली पठाउने निर्णयसमेत गरेको छ ।कान्तिपुर