काठमाडौ, फाल्गुन २० - ठमेलतिरको एउटा डान्सबारमा एक जना ग्राहक नियमित आउँथे । उनको सेवामा जुट्थिन् सरिता गिरी । उमेरले १८ पार नगरेकी गिरीलाई ती ग्राहकले मन पराउन थाले । बिहेको प्रस्ताव पनि राखे । ती युवक थिए भारतीय आतंककारी निरञ्जन होजाई । तर, होजाईले गिरीलाई आफू धरानको निर्मल राई भएको बताए । महिनाको ३/४ हजार तलबमा डान्सबारमा डान्स गर्ने युवतीलाई गाडी चढेर आउने व्यक्तिको
बिहेको प्रस्तावले उनको जिन्दगी बदलिदियो । चिनजानको अढाई महिना नबित्दै बिहे गरेकी उनले हनिमुन फाइभ स्टार ह्यात रिजेन्सी होटलमा मनाइन् । त्यो पनि ठूलो तामझामका साथ ।
२०६५ सालमा उनीहरूले लगनगाँठो कसे । गिरी सुखसयलमा रमाउन थालिन् । होजाईले उनलाई जोरपाटीमा अढाईतले घर किनिदिए । स्कुटर, गाडी, मोबाइललगायत सबै सुविधा उनले पाइन् । जोरपाटीमा बस्दाबस्दै गिरी र होजाईको एउटा छोरासमेत जन्मियो । सिन्धुपाल्चोक पुख्र्यौली घर भएकी गिरीको परिवार निम्नवर्गीय हो । बाबु रामचन्द्र, आमा सेती गिरी जोरपाटीतिरै भरियाको काम गर्छन् । उनका दाजु र भाउजू पनि जोरपाटीकै स्कुलमा कार्यालय सहयोगी र आया छन् ।
पाँच कक्षामात्र पढेकी उनी पैसा कमाउने लालचमा डान्सबार पसेकी थिइन् । पैसा कमाएर ल्याउने भएपछि बाबुआमा पनि चुपचाप थिए ।
छोरीले कहाँ काम गर्छे ? पैसा कसरी ल्याउँछे ? कहिल्यै पनि सोधीखोजी गरेनन् । अलि पछि छोरी त बिहे गर्ने हो भन्दै आई ।
बाबुआमाको पञ्जाबाट बाहिर भइसकेकी गिरीको बिहे बाबुआमाले होजाईसूग गरिदिए । बिहेपछि उनको लाउने, खाने, बस्ने, हिँड्ने सबै बानी परिवर्तन भयो । बाबुआमालाई गन्न छाडिन् । अचेल उनी डान्सबारमा काम गर्थिन् भनेरसमेत चिनाउन चाहन्नन् । अनुसन्धान गर्ने अधिकारीले पनि त्यो कुरा बाहिर नल्याइदिए हुन्थ्यो भन्ने उनको चाहना छ ।
दुई वर्षअघि निर्मल राई बनेर बसेका व्यक्ति नै निरञ्जन भएको प्रमाण भारतीय पक्षले सम्पत्ति शुद्धीकरण विभागलाई दिएको थियो । शुद्धीकरण विभागले अनुसन्धान गर्दा गम्भीर प्रकृतिको अपराधी पाएपछि प्रहरीलाई जिम्मा लगायो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले होजाईबारे थप विवरण पत्ता लगाउँदै अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा प्रहरीले होजाईले धरानबाट नागरिकता र त्यसैका आधारमा काठमाडौंबाट रादहानी लिएको पाएको थियो ।
होजाई पक्राउ परेपछि गिरीले आफ्ना श्रीमान् निर्मल राईको कालगतिले मृत्यु भएको भनी झुटो विवरण काठमाडौं महानगरपालिकामा पेस गरिन् । त्यही आधारमा उनले जोरपाटीको अढाइतले घर, ३ आना जग्गा र ४ वटा गाडी आफ्नो नाममा गराइन् । प्रहरीका अनुसार उनले अहिले छोराका लागि सम्पत्ति सारेर ल्याएको बताएकी छन् ।
डान्सबारमा काम गरिरहेकी किशोरीले ठूलो सपना देखेर बिहे गरिन् । बिहे गर्ने व्यक्ति आतंककारी भन्ने चाल पाउँदा उनी प्रहरीको नियन्त्रणमा थिइन् । अनुसन्धान गरिरहेका प्रहरीले उनलाई पक्राउ गरेर ल्यायो । उनीसँगै दूधे बालक पनि ९० दिन प्रहरी नियन्त्रणमा बस्यो । तामझामसाथ सुरु भएको उनको नयाँ जिन्दगी आतंककारीको श्रीमती हुँदै कारागारमा पुगेर विश्राम गर्यो ।साभार : ईकान्तिपुर डट कम /प्रतिमा बाँस्कोटा