पोखरा, १ चैत । जिल्ला विकास समिति अन्तर्गत जिल्ला प्राविधिक कार्यालय कास्की अन्तर्गत कार्यरत प्राविधिकहरुले आज दुइ घण्टा काम वन्द गरेका छन् । आँफुहरुले स्थानीय विकास मन्त्रालयमा विभिन्न माग सहित वुझाएको १३ वुँदे ज्ञापनपत्रको सुनाइ नभएको भन्दै आजदेखि दैनिक २ घण्टा काम नगर्ने भएका हुन् ।
आफुहरुले अघि सारेको मागको सुनुवाइ नहुँदा सम्म दैनिक १० देखि १२ वजे सम्म कामकाज ठप्प पार्ने जिल्ला प्राविधिक कार्यालय पोखराका इन्जिनियर गुरुदत्त अधिकारीले वताए । स्थानीय विकास मन्त्रालयले फागुन १ गते गरेको जिविस अन्तर्गत निर्माण भएका संरचना २ वर्ष भित्र विग्रेमा अथवा त्रुटि भएमा सम्वन्धित प्राविधिक र उपभोक्ता समितिले आफ्नै खर्चमा पूनः निर्माण गर्नुपर्ने निर्ण गरेपछि प्राविधिकहरुले विरोध गरेका हुन् ।
सोसाइटी अफ ईन्जिनियर्स फर रुरल डेभलमेन्ट नेपाल, नेपाल इन्जिनियर्स एसोसिएशन र डिप्लोमा इन्जिनियर्स एसोसियसन नेपालले विभिन्न राख्दै संयुक्तरुपमा गत फागुन १३ गते ज्ञापनपत्र वुझाएका थिए ।
प्राविधकहरुले भने पूर्वाधार निर्माणमा गुणस्तरियताका लागी स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागमा केन्द्रीय परिक्षण प्रयोगशाला र प्रत्येक जिल्लामा गुणस्तर परिक्षण प्रायोगशाला स्थापना र श्रोत साधनको ब्यवस्था गर्नुपर्ने स्थानीय विकास मन्त्रालयमा माग गरेका छन् ।
स्थानीय विकास मन्त्रालयले हामीले राखेको मागको सुनुवाइ नथर्दा सम्म हामीले प्राविधिक कार्यालयमा २ घण्टा काम गर्दैनौं । इन्जिनियर अधिकारीले भने– “प्रत्येक गाउँ विकास समितिमा कम्तिमा एक जना इन्जिनियर र २ जना सब इन्जिनियरको दरवन्दी हुनुपर्ने, स्थानीय विकास मन्त्रालयभित्र प्राविधिक माहाशाखा स्थापना हुनुपर्ने हामीले माग गरेका छौं ।”
प्राविधिकहरुको माग र २ घण्टा कार्यालयको काम नगर्ने सांकेतिक विरोधप्रति वेवास्था गरिए चैत ८ गतेदेखि देशभरका सवै प्राविधिक कार्यालयको सम्पूर्ण काम बन्द गर्ने जिल्ला विकास समिति कास्कीका सब इन्जिनियर राजु रेग्मीले चेतावनी दिए ।