बरण्डाभार जंगल चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारत पर्वत शृंखलासँग जोड्ने जैविक मार्ग हो। सरकारी वन क्षेत्रमा कार्यक्रम नभए पनि सामुदायिक वन क्षेत्रमा नियन्त्रणका योजनाहरु नभएका होइनन्। तर सामुदायिक वन समूहले पनि काठ तस्करी नियन्त्रणमा बढी र डढेलो नियन्त्रणमा कम चासो दिने गरेको अवस्था छ।
चितवन डढेलोको जोखिममा रहेको जिल्ला हो। सोमबार मात्र पनि जिल्लाका विभिन्न १३ वटा वन क्षेत्रमा डढेलो फैलिएको सूचना आएको छ। तर डढेलो बारे पुर्ण र यथार्थ विवरण लिन सक्ने अवस्था भने आफुहरुसँग नभएको जिल्ला वन अधिकृत सापकोटा बताउँछन्। ठाउँठाउँबाट आउने सूचनालाई आधार मानेर जिल्ला वनले विवरण तयार पार्छ।
डढेलो नियन्त्रणका बारेमा सोमबार पुर्वी चितवनको दुधकोसी सामुदायिक वनमा जागरण कार्यक्रम गरेको साकोटाले बताए। जिल्लाको पश्चिम क्षेत्रका वनभन्दा पूर्वका वन डढेलोको जोखिममा छन्। रुखका पातहरु खसेपछि जम्मा गरेर मल बनाउने परिपाटी विकास भए डढेलो नियन्त्रणमा सहयोग पुग्ने देखिन्छ।
'फायर लाइन बनाउने पत्कर सोहोर्ने, डढेलो देखिएमा तत्काल गएर काचो स्याउलाले आगो निभाउने प्रयास गर्नु पर्छ' सापकोटाले भने। चितवनमा साढे १८ हजार हेक्टर क्षेत्रफल सामुदायिक वन क्षेत्रले ओगटेको छ। जिल्लामा कुल ६५ वटा सामुदायिक वन छन्। सामुदायिक वनमा जागरण ल्याए डढेलो नियन्त्रण प्रभावकारी हुने सापकोटा बताउँछन्। सामुदायिक वनको कार्ययोजानमा नै डढेलो नियन्त्रणको कार्यक्रम उल्लेख हुनुपर्छ।