Responsive Ad Slot

latest

बूढा कर्मचारी, फोहोर अस्पताल I

Thursday, March 1

/ by Samsung
काठमाडौं, फागुन १९-भौतिक पूर्वाधार तथा सेवाको विस्तारसँगै सरसफाइ जनशक्ति व्यवस्थापन गर्न नसक्दा राजधानीको टिचिङ अस्पताल फोहोर बन्दै गएको छ।अस्पताल हाताभित्रका शौचालय, प्यासेज, बहिरंग तथा अन्तरंग भवनको फोहोर बनेका छन्। भवनको भित्ता वर्षौं पुराना फोहोर टाँसिएका छन्।'जापानले हस्तान्तरण गरेको केही वर्षसम्म सफै थियो,' अस्पतालकी हाउसकिपिङ इन्चार्ज निरला चित्रकारले भनिन्, 'बिस्तारै फोहोर बन्दै गयो।'२८ वर्षअघि जापानले अस्पताल हस्तान्तरण गरेको हो। 'त्यतिबेला बिरामी थोरै, भवन थोरै, फोहोर पनि थोरै,' सरसफाइ कर्मचारी पारस नेपालीले सुनाए, 'अहिले बिरामी, भवन र फोहोर दसौं गुणा बढेको छ, कर्मचारी उति नै छन्।'अस्पताल बन्ने ताका २५ सरसफाइ कर्मचारी खट्थे भने अहिले सयजना छन्। 'अहिलेको सेवा र बिरामीको चापअनुसार जनशक्ति पर्याप्त छैन,' नेपालीले भने, 'भएका कर्मचारी पनि सरसफाइमा सक्रिय हुने उमेरका छैनन्।'
कर्मचारी अपुग भएकैले सरसफाइको स्तर खस्कँदो भएको अस्पताल कर्मचारीको भनाइ छ। 'फोहोरमैलासँग खेल्दाखेल्दै कति कर्मचारी रोगी बनेका छन्, तैपनि जागिर खाएकै छन्,' एक कर्मचारीले भने, 'उनीहरु पहिले जस्तो काम गर्न सक्दैनन्।'
त्रिभुवन विश्वविद्यालय कर्मचारी ऐनमा ६३ वर्षसम्म जागिरमै रहन पाउने प्रावधान छ। 'आफूले सकेको काम त गरिराखेकै हुन्छन्,' हाउसकिपिङ इन्चार्ज चित्रकारले भनिन्, 'पहिले जस्तो भने गर्न सक्दैनन्।'
अस्पतालका अनुसार सरसफाइ कर्मचारीसहित तल्लो तहका १ सय ५० कर्मचारी ६० वर्षभन्दा माथिका छन्। 'धेरैले नागरिकतामा उमेर घटाएका रहेछन्,' प्रशासक राईले भने, 'तर, उमेरभन्दा बढीका छन्।'निजी अस्पताल तथा संस्थागत अस्पतालमै पनि करार तथा ठेक्का प्रणालीबाट आएका सरसफाइ कर्मचारीबाट बढी काम हुने गरेको अस्पताल प्रशासक चन्द्रकुमार राईको अनुभव छ।'छेउकै मनमोहन कार्डियो भवनमा ठेक्काका कर्मचारीले कति सफा राखेका छन्,' राईले भने, 'यता यस्तो बेहाल छ।'स्थायी तथा पुराना कर्मचारीलाई कामै नगरे पनि कारबाही गर्ने स्थिति छैन। 'निजीमा राम्रोसँग काम नगरेमा निकाल्ने डर हुन्छ,' इन्चार्ज चित्रकारले भनिन्, 'यता त्यस्तो गर्न मिल्दैन।'मध्यवर्गीय तथा विपन्नको केन्द्र बनेकाले पनि बढी फोहोर हुने गरेको चित्रकारको भनाइ छ। 'ठाउँ-ठाउँमा फोहोरको भाँडा राखेका छौं,' उनले भनिन्, 'तैपनि खाली बोतल र कागज जथाभावी फालिदिन्छन्।' निष्त्रि्कय उमेरका सरसफाइ कर्मचारीलाई स्वैच्छिक अवकाशमा पठाएर नयाँ कर्मचारी राख्न र जनशक्ति थप्न सके अस्पताल सफा राख्न सकिने सरसफाइ कर्मचारीको भनाइ छ।त्रिविले ऐन संशोधन नगरेसम्म यसमा केही गर्न नसकिने राईले बताए।'सरसफाइका लागि थप २ सय कर्मचारी आवश्यक छ,' उनले भने, 'बूढा कर्मचारीलाई स्वैच्छिक अवकाश दिने बजेट नभएकाले उमेर अवधि पर्खनुको विकल्प छैन।'
Don't Miss
© all rights reserved
made with by netKUTI