शंकर श्रेष्ठ, , धादिङ १९ फागुन ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक सङ्क्रमणको अन्तिम चरण्मा आइपुगेको बताउनुभएको छ । धादिङमा आजदेखि सुरुभएको कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन समारोहमा संबोधन गर्दै अध्यक्ष प्रचण्डले काङ्ग्रेस र एमालेले अनावश्यक रुपमा आफ्नो पार्टीलाई अविश्वास गरेकाले पनि निकास निस्कन ढिलाइ भइरहेको बताउनुभयो ।
यसैगरी नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले माओवादीले विश्वासको वातावरण बनाउन नसक्दा शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिन नसकेको बताउनुभयो । उहाँले पटक पटक गरिउका सम्झौताहरू कार्यान्वयन गर्न माओवादी उदासिन देखिएको समस्या भएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शान्ति प्रक्रियामा माओवादीले गरिरहेको आलटालले गर्दा संविधान लेखनको काम प्रभावित भइरहेको बताउनुभयो ।
उहाँले माओवादीमा अझै पनि द्वन्द्वकालीन मानसिकता हट्न सकेकोले सहमति वातावरण बन्न नसकेको बताउनुभयो ।
फागुन २५ गतेसम्म सन्चालन हुने मेलाको संयुक्त रूपमा उद्घाटनका लागि नेताहरू धादिङ आइपुगेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र जिल्ला विकास समितिले आयोजना गरेको मेला १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।