कपिल ज्ञवाली
बुटवल फागुन २२
माओवादीका पूर्व लडाकुहरुले आफूमाथि लगाइएको अयोग्यको बिल्ला हटाइनुपर्ने, उचित व्यवस्थापनका लागि एकमुष्ठ आर्थिक प्याकेज दिइनुपर्ने, घाइते–अपाङ्ग तथा सुत्केरी महिलाको हकमा थप राहत दिइनुपर्ने माग राख्दै आज आह्वान गरेको बन्दका कारण बुटवल आसपासको जनजिवन प्रभावित भएको छ ।
बन्दका क्रममा लामो तथा छोटो दुरिका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने बजार तथा पसलहरु पनि बन्द छन् । बहिर्गमनमा परेका माओवादी पूर्व लडाकुहरुले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ । यसैक्रममा बसमा आगजनी गर्न खोज्ने दुईजना बन्दकर्तालाई कपिलवस्तु प्रहरीले आज पक्रेको छ ।
पक्राउ पर्नेमा सदरमुकाम तौलिहबा बस्ने दिपक गिरी र कुजादी यादव रहेका छन् । उनीहरुलाई नगरपालिकास्थित कुदान भन्ने ठाउबाट बसमाथि आगजनी गर्न खोज्दै गरेको अवस्थामा प्रहरीले पक्रेको हो । उता प्रहरीले म्याग्दी, बागलुङ, पर्वत लगायतका जिल्लाबाट पनि केहीलाई पक्राउ गरेको छ । अनिश्चितकालिन बन्द सफल बनाउन पसल, यातायात बन्द गराउदै हिडेका माओवादीका ९ अयोग्य लडाकुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जबर्जस्ती बन्द गराउने क्रममा पक्राउ परेका अयोग्य लडाकुहरुमा समिट केसी, रमेश सापकोटा, राजकुमार क्षेत्री, निरज केसी र माधव रिजाल म्याग्दीमा पक्राउ परेका हुन् । यता, बागलुङमा लोकतान्त्रिक चोकबाट लक्ष्मण किसान र पदम किसान तथा पर्वत कुश्माबाट होमबहादुर नेपाली र मीनबहादुर केसी अविरललाई पनि प्रहरीले जर्बजस्ती बन्द गराउन दबाव दिदै हिडेको आरोपमा नियन्त्रणमा लिएको छ ।
फेवाको शाखा बुटवलमा
बुटवल २२ फागुन
फेवा फाइनान्स लिमिटेडले बुटवलमा शाखा कार्यालय स्थापना गरि आजबाट सेवा सुभारम्भ गरेको छ । फाइनान्सको बुटवलको यो बाह्रौ शाखा कार्यालय हो । बुटवल —६ स्थित बी.पी.चोकमा स्थापना गरिएको शाखाको आज संस्थापक द्धय देबिराज गुरुङ र राजेन्द्र लिगलले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नु भएको हो । त्यस्तै आज नै तम्घास,पाटन र दमकमा क्रमशः ९ औं,१० औं र ११ औं शाखा कार्यालयको उद्घाटन गरिएको छ । तम्घासमा संचालक दिलबहादुर गुरुङ,पाटनमा अध्यक्ष विन्दुकुमार थापा र दमकमा कार्यकारी अधिकृत रेशमबहादु थापाले उद्घाटन गर्नु भएको बुटवल शाखाका कार्यकारी अधिकृत ज्ञानेन्द्र पोख्रेलले जानकारी दिनु भयो । पोखरामा प्रधान कार्यालय रहेको फेवा फाइनान्सले ०६० साल बैशाख १७ गतेबाट आफ्ना सेवा सुभारम्भ गरेको थियो ।