बाग्लुङ, १७ चैत । बाग्लुङ उद्योग वाणिज्य सङ्घले महोत्सवका अवसरमा ढोरपाटन घुम्ने अवसर मिलाइदिएपछि रहर भएर पनि ढोरपाटन पुग्न नसकेका व्यक्ति अहिले हेलिकप्टर चढेर ढोरपाटन पुगेका छन् ।
पैदल तीन दिन हिँडेरमात्र पुग्न सकिने नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन केही मिनेटमा हेलिकप्टर चढेर जान सकिने भएपछि धेरैजना खुसी भएका छन् । सङ्घको आग्रहमा सिम्रिक एयरको हेलिकप्टरले सस्तो मूल्यमा भ्रमणको व्यवस्था गरेपछि धेरैजनाले पहिलोपटक ढोरपाटन जान पाएको बताएका छन् ।
पश्चिमाञ्चल औद्योगिक व्यपार मेला तथा तेस्रो बाग्लुङ महोत्सवको अवसरमा सङ्घले बुधबारदेखि हेलिकोप्टरमा ढोरपाटन घुम्ने व्यवस्था गरेको हो । सङ्घको आग्रहपछि पहाडी उडानमार्फत आन्तरिक पर्यटकलाई आकर्षण गर्न हेलिकप्टरको व्यवस्था गरिएको सिम्रिक एयरका बजार व्यवस्थापक कमल गौतमले बताउनुभयो ।
हेलिकोप्टरको व्यवस्थापछि धेरैले ढोरपाटनबारेमा चासो राख्न समेत थालेका हुन् । एयरले दैनिक दुईपटक ढोरपाटन र दिनभर बाग्लुङ, पर्वत र म्याग्दी सदरमुकाम तथा आसपासका पर्यटकीय स्थानको अवलोकन गराएको छ । ढोरपाटन जानेहरू एकरात बसेर फर्कने गरेका छन् । बाग्लुङ कालिका, गलेश्वर, गुप्तेश्वर, नेपालकै अग्लो झोलुङ्गे पुल लगायतको दृश्यावलोकनका लागि छोटो दूरीको उडानको व्यवस्था गरिएको सङ्घले जनाएको छ ।
ढोरपाटन पर्यटकीय र सिकारीको गन्तव्य भए पनि सहज यातायातको पहुँच नहुँदा धेरैले चाहेर पनि जान सक्ने अवस्था थिएन । हेलिकप्टरको व्यवस्था भएपछि चितवन, पोखरा र काठमाडौँदेखि समेत आन्तरिक पर्यटक ढोरपाटन घुम्न आएका छन् । छोटो उडानका लागि रु चार हजार पाँच सय र ढोरपाटनसम्मको यात्राका लागि रु १५ हजार लाग्ने हेलिकप्टर टिकट व्यवस्थापन समितिका संयोजक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो । हेलिकोप्टरबाट हालसम्म ३० जना ढोरपाटनको अवलोकन गरी फर्केका छन् ।