पोखरा, २२ फागुन ।
स्वतन्त्र पत्रकारिताको रक्षा गर्ने भन्दै पोखरामा स्वतन्त्र पत्रकार सङ्घ नेपाल गठन हुने भएको छ। क्रियासिल स्वतन्त्र पत्रकारहरुको पोखरामा फागुन २४ गते फागु पुर्णिमाका दिन पोखराको न्युरोडमा हुने भेलाले संघको तदर्थ समिति गठन गर्नेछ।
भेला आयोजक समितिको आइतबार बसेको बैठकले भेलामा प्रस्तुत गर्ने प्रस्तावहरुसमेत तयार छ। श्रमजीवी पत्रकारहरुको हक, हित संरक्षणका लागि स्वतन्त्र पत्रकार सङ्घ नेपाल गठन गर्ने उदेश्यले भेला आयोजना गर्न लागिएको हो। भेलामा नौ सदस्यीय तदर्थ समिति र तीन सदस्यीय विधान मस्यौदा समिति चयनका लागि प्रस्ताव गरिने भएको छ।
पोखरामा क्रियाशील एक सय २५ जना पत्रकारहरुले आफू स्वतन्त्ररुपमा पत्रकारिता गर्ने घोषणा गरिसकेका छन् भने स्वतन्त्र रहने क्रम जारी छ।
गत वर्ष नेपाल पत्रकार महासंघ कास्कीको चुनाव नगरी पार्टीगत पत्रकार संगठनले नेपाल पत्रकार महासंघको विधि विधान मिची पत्रकारहरुको मताधिकार खोसेर अवैधरुपमा समिति गठन गरेपछि त्यसको विरोधमा स्वतन्त्र पत्रकारिताको रक्षाको लागि कास्कीका पत्रकारहरु संगठित भएका हुन्।
पार्टीगत पत्रकारका संगठनले होटलमा बसेर मनोमानीरुपमा समिति बनाएपछि त्यसको विरोधमा कास्कीका स्वतन्त्र पत्रकारले पोखरामा ११ दिनसम्म रिले अनसन बसेका थिए। रिले अनशन बस्ता समेत केन्द्रीय समितिले कुनै सुनुवाई नगरेपछि पोखराका पत्रकार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा आमरण अनशन बसेका थिए।
आमरण अनशनपछि महासंघका तत्कालीन अध्यक्ष धमेन्द्र झाले कास्कीमा विधिवत रुपमा चुनाव गराउने प्रतिबद्धता गरे पनि अनसन तोडिएको थियो। तर, अझैसम्म कास्की शाखाको चुनाव नभएपछि स्वतन्त्र पत्रकार संघ गठन गर्न लागिएको अग्रज पत्रकार एवं भेला आयोजक समितिका संयोजक कृष्ण प्रसाद बास्तोलाले जानकारी दिए। (नागरिक)