भक्तपुर, १७ चैत । भक्तपुरको ताथली गाविसमा चापाटोल खानेपानी आयोजना सम्पन्न भएपछि घरघरमा चौबिसै घन्टा पानी आउने भएकाले उपभोक्ता हर्षित भएका छन् ।
ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना भक्तपुरको रु ४२ लाखको लागतमा सञ्चालित आयोजना सम्पन्न भएपछि यहाँका एक सय घरपरिवारलाई धारा वितरण गरिएको चापाटोल खानेपानी आयोजनाका अध्यक्ष राजेन्द्र थापाले बताउनुभयो ।
स्थानीयवासीले रु १६ लाखबराबरको श्रमदान गरी हालै सम्पन्न गरेको सोे योजनाले ताथली गाविस–१, २ र ३ का एक सय घरधुरीलाई चौबिसै घन्टा पानी वितरण गरेको बताइएको छ । पानीको सधँै अभाव रहने सो स्थानमा पानी आउने भएपछि पानीका लागि सजिलो भएको स्थानीय मोहन शर्माले बताउनुभयो । ‘पहिला कुवामा पानी भर्न भिड लाग्थ्यो तर अहिले घरमै पानी आउने भएपछि सजिलो भएको छ ’उपभोक्ताले बताएका छन् ।
आयोजनाले ७० घनमिटरको दुईवटा ट्याङ्की बनाएर पानी वितरण गर्दै आएको छ ।