काठमान्डौ २५ फागुन ।
आज मार्च ८ अर्थात १०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरेर मनाइदैछ । संयुक्त राष्ट्र संघले यसवर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ग्रामीण महिलाको सशक्तिकरण, भोक र गरिबीको न्यूनीकरण भन्ने तय गरेको छ भने नेपालमा महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं भन्ने नाराका साथ श्रमिक महिला दिवस मनाइदैछ ।
१०२औं श्रमिक महिला दिवसको अवसरमा नेपालका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि ¥याली, अन्तरक्रिया तथा महिला सवालमा केन्द्रीत भएर छलफलको आयोजना गरिरहेका छन् । देशभरका सामुदायिक रेडियोहरुले पनि महिला अधिकार तथा उनीहरुको जीवनस्तर उकास्न सरोकारवाला निकायको भूमिका लगायतका बिषयमा केन्द्रीत बिभिन्न कार्यक्रम प्रसारण गरिरहेका छन् ।
अमेरिकाको न्युयोर्कको कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले ८ घण्टा काम, ८ घण्टा आराम, कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० मार्च ८ बाट यो दिवस मनाउन थालेका हुन् । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरु २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न छन् ।
यसैबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराइले शुभकामना सन्देश दिदै महिलालाई संविधान प्रदत्त हक र अधिकारको सुनिश्चितता आजको अवश्यकता रहेको बताउनु भएको छ । यस्तै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यलयले पनि शुभकामना वक्तव्य जारी गर्दै महिला अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।