चैत बैशाखमा नपाएको मही र पुस माघमा नपाएको पोइ” को कुनै अर्थ हुँदैन भन्ने उक्ति बंगलादेशी प्रदेशचाचाको श्रीमतीले ओकलेर प्रमाणित गरिदिएकी छिन् । यदाकदा हाम्रो नेपाली समाजमा पनि यस्ता समाचारहरु सुनिन आईरहने हुनाले बंगलादेशी नागरिक प्रदेशचन्द्र बोसको जीवनमा घटेको घटनाको यो प्रसंग जोड्न चाहेको हुँ ।
घरको विपन्न दुरावस्थाबाट दिक्दारी झेलेका कयौँ नेपाली दाजुभाईहरु लहलहाउँदो उमेरकी आफ्नी श्रीमती, बालबच्चा र बुढा बाुबआमाको सुख स्वास्थ्यप्रति छोरा, बाउ र श्रीमानको दर्जा प्राप्त गर्नुको दायित्व निभाउन विदेशिएका हुन्छन् । परदेशमा श्रीमानहरु मरिमेटेर परिवारको लागि कनीकुथी पैसाको जोहो गरिरहेका हुन्छन् भने घरमा बसेर लोग्ने र बाउको पैसाको स्वाद चाख्न पल्केकाहरुले आर्थिक सुख प्राप्ती पछि त्यहि परदेशमा कमाउन गएको बाउ र लोग्नेलाई चटक्क बिर्सिएर आफ्नै घरको छानो उधार्ने काम गरेको बग्रेल्ती भेटिएको पाउँछौँ ।
प्रदेशचन्द्र बोस |
उनी कतार आएको पनि २९ बर्ष बितिसकेछ । “इन्दिरा गान्धीलाई भारतमा गोली हानी हत्या गरेको २ बर्ष अघि अर्थात १९८२ मा म कतार आएको हुँ ।” उनले कतार आगमनकालिन क्षण अघि जागीरको सिलसिलामा भारत भासिएको कुरा पनि सुनाउन भ्याए । भारतबाट पाकिस्तान अलग राज्यमा विभाजन भएपछि तत्कालिन पाकिस्तानको भूमि अन्तर्गत पर्ने बंगलादेशले पनि स्वाधीनताको लागि युद्ध छेडेर अलग भएको स्मरण गर्दै उनले भने । “बंगलादेश पाकिस्तानबाट अलग राज्य त भयो । तर धार्मिक दंगाको कारणले गर्दा रोजगारको सम्भावना धेरै कम भएको हुनाले भर्खर जसो अंग्रेजले भारत छोडेर फर्किएपछि भारतमा खोलिएको थुप्रै कलकारखानाहरुमा जागीर पाउने सम्भावना बोकेर म बंगलादेशको फुलवारी हुँदै सिलगुडी र पश्चिमबंगालको बागडोगराबाट पूर्वोत्तर बंग सरकारद्धारा संचालित काठको कुर्ची भएको पुरानो टाटा बसमा चढेर कलकत्ता गएको थिएँ । त्यस ताका मेरो बिहे भएको थिएन ।
दोश्रो विश्व युद्धमा आफुले आर्जेको सम्पत्ती लुटिने तथा मारिने भयको कारणले चीनका लाखौँ नागरिकहरु हङ्गकङ्ग हुँदै भारतको कलकत्ताको सियाल्दा सहर वरिपरि आफु संग भएको छाला व्यापार सम्बन्धी व्यापारी शीप र छाला कारखानाहरु खोलेर आफ्नो पुरानो पेसालाई भारतमा निरन्तरता दिएका थिए । छाला कारखानामा जो कोहिले काम गर्न नरुचाउने भएको हुनाले मैले त्यहाँ जागीर सहज रुपमा पाउन सफल भएँ । २ बर्ष त्यहाँ जागीर गरेपछि फेरि आफ्नो मातृभूमि फर्किएँ ।”
हो तिनै बंगलादेशका नागरिक प्रदेशचन्द्र बोस विगत २९ बर्षदेखि कतार बस्दै आएका रहेछन् र उनले अब आफ्नो मातृभूमि कहिलै नफर्कने स्वघोषणा गरेका छन् । बंगलादेशको ढाका बाट करीब ५ घन्टाको पक्की तथा कच्ची बाटोको यात्रा गरेपछि मौलवी जिल्ला पुगिने खोलाग्राम पञ्चायत अन्तर्गत घर भएका प्रदेशचन्द्र बोसको मन आज बेस्सरी भाँच्चिएको छ । सुसभ्य ब्राम्हण परिवारमा जन्मिएका प्रदेशचन्द्र उनी ८ कक्षा सम्म मात्र पढ्न भ्याएका उनका परिवारको एक्लो छोरो रहेछन् ।
खोलाग्राममा बसेर आफ्नो भविष्य सुखद नदेखेका उनी एकजना छिमेकीको सहयोगमा कतार आउने संयोग जुरेको रहेछ । कतारमा डकर्मी काम गरेर प्रदेशचाचाले उन्मत्त बल भरिएको २९ बसन्त सुलुत्त निखारिसकेको बुढो औँला गन्दै झसंग भए जस्तो गरे ।
यस बीचमा उनले कतार प्रवेश गर्नुअघि नै बाबु आमाको करबलमा परी विवाह पनि गरीसकेर कतार आएका रहेछन् । उनकी श्रीमतिले पनि प्रदेशचन्द्रको अनुकम्पाबाट ३ छोरी र एक छोरा लगालग जन्माईदिएर सासु ससुरा र प्रदेशचन्द्रलाई मख्ख पारिदिईछन् । विहेको समयमा श्रीमतीको नाक कान घाँटीमा सुनका गहना परै जावोस् एक जोर साँखाको बाला ( सामुन्द्रिक शंखबाट बनाईने कलात्मक रुपमा कुँदिएको बाला ) पनि दिन सक्ने उनको आथिएक हैसियत पनि रहेनछ, जुन विवाहित हिन्दु बंगाली नारीहरुले अनिवार्य र पवित्र गहनाको रुपमा प्रयोग गर्नै पर्ने हुन्छ ।
“कतार आउने क्रममा राति हामी धेरै भलाकुसारी गर्यौँ , कतारमा पैसा कमाई सकेपछि तिमीलाई सवै भन्दा पहिले कुन चाहिँ उपहार ल्याईदिऊँ ? एउटै गोडा गरेर सुतेका प्रदेशचाचाले आफ्नी श्रीमतीलाई सोधेका पनि रहेछन् । “विवाहमा अनिवार्य रुपमा हामी बंगाली हिन्दुनारीहरुले लगाउनु पर्ने साँखाको बाला लगाउन पाएकी छैन । मलाई अरु केहि चाहिँदैन , तपाईंको कमाईले किनिदिनुभएको साँखाको बालामात्र तपाईंबाट चाहन्छु ।”
विगतमा श्रीमतीसंग बिताएको रसिक र प्रेमिल क्षण स्मरण गर्दै र भावुक हुँदै प्रदेशचन्द्र चाचाले अरु भन्दै गए । “कतार आउने रातको बंगलादेश खोलाग्रामको मेरो घरको फुस्को छानो मुनिको त्यो क्षणमा कहिले म कतार जाने कुराले मेरी श्रीमति रुन्थी र म फकाउँथेँ भने कहिले म रुन्थेँ र उ फकाउँथी । यसरी विहान उज्यालो भयो र बुवा आमाको खुट्टामा ढोगेर म कतार आएँ ।” उनले सुनाए ।
कतार आएको ५ महिनामा बंगलादेश जाँदै गरेको गाउँलेको हातमा पैसा तथा खामबन्दी चिठी श्रीमतिको हातमा मात्र दिनु भनेर पठाएका पनि रहेछन् । चिठी नितान्त रुपमा आफ्नी श्रीमतिलाई मात्र भनी प्रेमिल शव्द्धहरु गुँथेर लेखेको हुनाले जो कोहिलाई चिठी पढ्न नलगाउनु भनी साथीको मुखमा आधा समाचार पनि दिई पठाएका पनि रहेछन् ।
साँवा अक्षर पनि नखारेकी उनकी श्रीमतिले त्यो चिठी माईत गएर भाईसंग खार्ने निर्णय लिईछन् र भाईलाई पढ्न लगाईछन् । भाईले सरसरी मनमनै पढिसकेपछि लेखिएका शव्द्धहरु दिदीलाई सुनाउन पनि अप्ठेरो लागेर भिनाजुले लेखेको अक्षर नै बुझिन भनेर चिठी दिदीको हातमा थमाईदिएछ ।
जो कोहिलाई त्यो चिठी पढ्न नदिनु भनेको हुनाले घर छुट्टी काटेर कतार फर्कदै गरेका साथीको हातमा जस्ताको तस्तै कतारमा प्रदेशचन्द्रकै हातमा फिर्ता आएछ । अहिले त्यो उमेरमा आफ्नै श्रीमतिलाई लेखेको ठट्यौलो चिठी भित्र लेखिएको कुरा सम्झिँदा लाज लाग्ने गर्छ , कतारको तातो पानीले खुईलिएको तालुको खाली प्रदेश बाहेक बचेखुचेका काँसघारी जस्ता सेतै फुलेको कपाल कन्याउँदै प्रदेशचाचा असजिलो हाँसे ।
“मैले बडो कष्ट र साधनाको साथ छोरा छोरी र बुवा आमाको लालनपालन गर्दै आएँ । कतारमा कमाएको एक डकर्मीको पैसाले दुखैले भएपनि अरुको तुलनामा सुख संग पढाउने र पाल्ने काममा भने कुनै कमी राखेको थिइनँ ।” जेठी छोरी माईली छोरीलाई गाउँबाट ल्याएर ढाकाको क्याम्पसमा पढाएर ठूलो मान्छे बनाएर विहे गरीदिइसकेका उनलाई अब छोराको पनि कुनै टन्टा नरहेको बताए । छोरो पनि आफुलाई चाहिने शिक्षा पर्याप्त प्राप्त गरी प्रहरीमा राम्रै तहमा जागीर खाएका रहेछन् ।
“मैले कतारमा २९ बर्ष सम्म सधैँ एकटंकार संग एउटै डकर्मी पेसामा आवद्ध भई काम गर्दै आएँ । त्यसै कामको सिलसिलामा ३ पटक त घरको छतबाट खसेर गम्भीर घाईते भएँ । घरमा बतायो भने सवै चिन्तामा डुब्छन् भनेर मैले कहिले यस्तो घटनाको बारेमा घरमा जानकारी दिईन । अहिले पनि छुट्टीमा घर गएर आएको १० महिना भयो । छोराछोरी र श्रीमतिको सुखको लागि भनी थुप्रै जग्गा किनेँ , राम्रो घर पनि बनाएँ । घरमा रहेका श्रीमति छोरा छोरी बुहारी नाति नातिनालाई मन पराएको कुरा लगाउन र खानलाई कुनै कमी राखिन । २ वटा छोरीको पनि धुमधामसंग माग बमोजिमको दाईजो दिएर विहे गरिदिएँ ।
छोराको पनि धुमधाम संग विहे गराएर घरमा बुहारी भित्र्याएँ । कान्छी छोरीको विहे गरिदिएको ऋण अझैँ पनि निख्रिसकेको छैन ।” अनुहार मलिनो बनाउँदै उनले सुनाए ।
गत डिसेम्बरमा काम गर्दा गर्दै उनी कार्यस्थलमा नै बेहोस भई ढलेपछि उनलाई हस्पिटल पुर्याईएछ । डाक्टरहरुको जाँच पड्ताल पछि उनले बल्ल थाहा पाएकि उच्चरक्त चाप, मधुमेह तथा मिनी हार्ट एट्याक जस्तो जघन्य रोगबाट उनी ग्रस्त भईसकेका रहेछन् । बुढ्यौलीले बेस्सरी गालेछ । अब बाँच्दिन कि भन्ने लाग्यो र घरमा श्रीमतिलाई फोन मार्फत प्रदेशचन्द्र चाचाले सोधेछन् । रोगले बेस्सरी थला पार्यो अब काम गर्न नसक्ने भए,ँ सदाको लागि देश फर्कदै गरेको कुरा फोन मार्फत श्रीमतिलाई जानकारी गराएछन् ।
आफु आफ्नो खोलाग्राम गाउँ फर्किने कुरा गरेपछि उनकी श्रीमतीले ओठे जवाफ फर्काएकी रहिछन् । पाकेको हलुवावेद जस्तो भर्भराउँदो बैँस लटरम्म भएको बेलामा धित मर्ने गरी नपाएको लोग्नेको शारीरिक आनन्दानुभवको अभावको तिक्तता पोख्दै प्रदेश चाचाको श्रीमतिले भनिछन् , “जुन उमेरमा मलाई तेरो खाँचो थियो, त्यो बेलामा मैले तँलाई रहर मेट्ने गरी पाउन सकिन । अब अनुहार, रहर र उमेर सवै चाउरी परिसकेपछिको यो बुढेसकालमा तँ आएपनि न आएपनि मलाई के स्वाद भयो र ?”
हो यिनै कुराले प्रदेश चाचाको मन कुँडिएको छ । उनको मन मक्किएको काठको लौरो ठनक्क भाँचिएझैँ मन भाँचिएको छ । अनि पो उनले कहिलै पनि आफ्नो मातृभूमि नफर्कने बाचा गरेका रहेछन् । प्रदेशचाचाले छुट्टीमा आफ्नो घर फिरेको दिनहरुमा सन्तानप्रेम दर्शाउँदै गरेको त्यो रमाईलो मायावी दिनहरु आँखाभरि झलझली नाच्दै गरेको कुरा सुनाउँदै यसो भन्दै गए । “त्यहि मेरो छोरो हो जो १६ बर्षको लाठे उमेरमा पनि घर गएको बेलामा म संग नै टाँसिएर सुत्ने गर्दथ्यो, त्यसले समेत बावा तपाईं घर आउनुहोस् भनेर एक बचन शान्त्वनाको शव्द्ध ओकलेन ।
जहाँ जहाँ सरुवा हुँदै जान्छ , उसले पनि आफ्नी श्रीमतीलाई सरुवा गर्दै भाडाको कोठमा लगेर आफ्नै नीजि जीन्दगी बिताउन थालेपछि उसले पनि मलाई भुसुक्क बिर्सिदियो । मैले आफ्नो सन्तानलाई गरेको माया सवै व्यर्थ रहेछन् ।” तिनै लालाबाला र श्रीमतिले दुख काट्नु नपरोस् भनी परदेशको भूमिमा थलो पर्ने गरी कमाएर भौतिक सुख समृद्धिले सम्पन्न बनाएको आफ्नो धर्मपत्नीले फर्काएको ओठे जवाफ सुनेर प्रदेशचाचा स्तव्ध भएका रहेछन् र उनले घर नजाने निर्णय गरेछन् ।
जुन बेलामा घरमा पैसाको अभाव थियो, त्यो समयमा प्रदेश चाचाको खाँचो उनकी श्रीमतीलाई पटक्कै भएनछ । सन्तान र श्रीमतीका लागि जग्गा जमीन, घर र सन्तानको शिक्षादीक्षाको लागि जोहो गर्दा गर्दै उमेरले नेटो काटेर कपाल पाकेर सेताम्ये भएको बेलामा छोराछोरी र श्रीमतिको आड भरोसा चाहिएको रोगी उमेरमा उनीहरुबाट रुखो जवाफ आएपछि उनको मन किन नरोवोस् त ? अनि किन आफ्नो मातृभूमि फर्किन मन लागोस् त प्रदेश चाचालाई ? आफ्ना सन्तानको सुख समृद्धिको लागि जुँगाको रेखी नबस्दै कतार आएका ति प्रदेश चाचाको तितो सत्य कैयौँ हाम्रा नेपाली बस्ती र झुपडीहरुमा पनि पिल्सिएर बसिरहेका होलान् ।
विगत र आगतका पारिवारिक दारिद्र्यताको दारुण कथा सुनाएर उनी लामो समय सम्म दुई घुँडाको जोरमा मुन्टो अड्याएर घुँक्क घुँक्क गर्दै बुढो रुवाईको नमिठो रोदन उरालिरहेका थिए ।
रवि रोषी