खिलानाथ ढकाल,
विराटनगर,३० फागुन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट वन तथा भू-संरक्षण राज्यमन्त्री बनेका लक्ष्मण मेहतालाई विराटनगर भन्सार कार्यालय छेउमा स्थानीयवासीले आइतबार राति बिना भन्सारका सामानसहित नियन्त्रणमा लिए।
विराटनगर,३० फागुन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट वन तथा भू-संरक्षण राज्यमन्त्री बनेका लक्ष्मण मेहतालाई विराटनगर भन्सार कार्यालय छेउमा स्थानीयवासीले आइतबार राति बिना भन्सारका सामानसहित नियन्त्रणमा लिए।
आधा घन्टा स्थानीयको नियन्त्रणमा रहेपछि मेहता भन्सारमा गई प्रज्ञापनपत्र बनाएर राजस्व तिरेपछि मात्रै फर्किए। विराटनगर विमानस्थलमा दिउँसो ४ : ५० बजे उत्रेर होटल जेनियल पुगी सोझै किनमेल गर्न सुरक्षागार्ड र सहयोगी लिएर सिमावर्ति जोगबनी बजार पुगेका राज्यमन्त्री मेहतालाई उनी चढेको बा १ झ ६७११ नम्बरको सरकारी झन्डावाला गाडीसहित स्थानीयले नियन्त्रणमा लिएका थिए। राति करिब साढे ७ बजे उनी जोगबनी बजारबाट नेपाल फर्किँदै थिए।
उनले ल्याएका सामानमध्ये तीन पिस साडी र करिब २५ सय मूल्य बराबरको राइस कुकरको भन्सार राजस्व काटिएको थिएन। स्थानीयले रोकेर प्रहरीको रोहबरमा प्रतिसाडी ७ रुपैयाँ र राइसकुकरको १ सय २९ रुपैयाँ भन्सार तिराए पछि मात्र राज्यमन्त्री मेहतालाई सहजताका साथ फर्किने वातावरण मिल्यो ।
'सरकारी झन्डावाला गाडी जोगबनीतिर गएको देखेपछि के रहेछ भनेर ढुकेर बसेका थियौं', मन्त्री रोक्ने टोलीको नेतृत्व गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का मोरङ उपाध्यक्ष मुस्लिम मियाँले नागरिकसँग भने, 'सामान ल्याएर भन्सार नकाटी सोझै विराटनगर हुइँकिएपछि समातेका हौं।' मन्त्री चढेको गाडीमा ७० हजार मूल्य बराबरका सामान भन्सार नतिरी ल्याएको भए पनि प्रहरीले मन्त्रीले कम सामान ल्याएको देखाएर थोरै राजस्व कटाएको दाबी उनले गरे।
'थुप्रै सामान थियो तर प्रहरीले भन्सारभित्र हामीलाई पस्न दिएनन्', उनले भने, 'साधारण जनतालाई एक-दुई सयको सामान ल्याउँदा पनि भन्सार नकाटी छिर्नै नदिने, मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने? यस्तोखाले प्रवृत्तिको हामीले विरोध गरेका हौं।'
मन्त्री र उनी चढेको गाडी स्थानीयको नियन्त्रणमा रहेको थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन्द्र कार्की टोली लिएर पुगेका थिए। कार्कीले भीडलाई नियन्त्रण लिई सामान भन्सार कटाउन लगेका थिए। 'स्थानीय केही व्यक्तिहरुले मन्त्रीलाई रोकेर अवरोध पुर्याइरहेका थिए', प्रहरी निरीक्षक कार्कीले भने, 'म पुगेर सामानको भन्सार तिरेपछि अवरोध हट्यो।'
अर्थ मन्त्रालयले भारतबाट आयात गर्दा एक सय रुपैयाँ भन्दा बढीका सामानमा भन्सार प्रज्ञापनपत्र अनिवार्य गर्नुपर्ने नियम लागू गरेको छ। त्यो लागू गर्दा सर्वसाधारण मारमा परेको भन्दै 'व्यहारिक पक्ष'लाई ध्यानमा राखी भन्सार कार्यालयले एक हजार रुपैयाँभन्दा बढी मुल्यका सामानमा भन्सार राजस्व तिर्नुपर्छ।
राज्यमन्त्री मेहता भन्सारमा गाडी राखेर भारततिर किनमेल गर्न गएका थिए। मन्त्रीका स्वकीय अधिकृत दिलीप महतोले भन्सारको घटना सामान्य रहेको बताए। 'केही समूहले गाडी रोक्नुपर्छ भन्दै घेरा हाले', महतोले भने, 'भन्सारमा पुगेर सामानको राजस्व तिरेर हामी फर्कियौं।'
मन्त्री मेहता सोमबार पूर्वाञ्चल विश्वविद्यालयको १८औं साधारणसभामा सहभागी हुन आएका थिए। साधारणसभामा शिक्षामन्त्री दिनानाथ शर्मा पनि सहभागी थिए।