कठमान्डौ ४ चैत ।
शान्ति र संविधान लेखनको काम अवरुद्ध बनिरहेको बेला राष्ट्रपति डा. रामवरण यादवले आज प्रमुख चार दलका शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको छ । दलहरू मुख्य काममा गम्भीर नभएको भन्दै राष्ट्रपतिले संयुक्त परामर्शका लागि आज बिहान शीर्ष नेताहरूलाई शितलनिवासमा बोलाउनुभएको हो ।
राष्ट्रपतिसँगको परामर्शका लागि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार शीतलनिवास पुग्नुभएको हो । निर्धारित समयमै शान्ति र संविधान लेखनको बाँकी सकिने गरी सहमति गरी अघि बढ्न राष्ट्रपतिले दलका नेताहरूलाई आग्रह गर्नुभएको छ ।
नेताहरूले अहिलेसम्म भएका कामका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । लडाकु समायोजनमा दलहरूबीच मतभेद हुँदा संविधान लेखनमा पनि परिरहेको असरप्रति राष्ट्रपति चिन्तित देखिनुभएको छ । यसअघि पनि राष्ट्रपतिले पटक पटक शान्ति प्रक्रिया र संविधान लेखनमा गम्भीर हुन नेताहरूको ध्यानाकर्षण गराउनुभएको थियो ।