काठमान्डौ २९ फागुन ।
देशका बिभिन्न १५ शिविरमा रहेका माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नेगरी आज कार्यतालिका सार्वजनिक हुने भएको छ । कात्तिक १६ मा भएको ७ बुँदे सहमति अनुसार नै लडाकु समायोजन गर्न माओवादी तयार भएपछि आज समायोजन कार्यतालिका सार्वजनिक हुने भएको हो । आजको विशेष समितिको बैठकमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले समायोजन रोजेका ९ हजार ५ सय लडाकुका लागि फेरि समायोजन र पुनस्थापना रोज्ने अवसर दिने गरी प्रस्ताव पेस गर्ने स्रोतले जनाएको छ ।
७ बुँदे सहमतिमा उल्लेख भए अनुसार ६ हजार ५ सय माओवदी लडाकु नेपाली सेनामा समायोजन हुनेछन् । लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने, कार्यतालिका निर्माण लगायतका शान्ति प्रक्रियाको बारेमा छलफल गर्न लडाकु,रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठक आज बस्दैछ ।
समितिको सचिवालय नयाँवानेश्वरमा दिउँसो ३ बजेपछि सुरु हुने बैठकमा शिविर खाली गर्ने जिम्मा पाएको विशेष समिति मातहतको सचिवालयले आफ्नो प्रतिवेदन पेस गर्नेछ । सचिवालयले करिब १ साता लगाएर २८ ओटा देशभरका लडाकु शिविरलाई १५ ओटामा सीमिति गरिसकेको छ ।