Responsive Ad Slot

latest

नेपाली राहदानीमा कतार आएका दुई भारतीय प्रहरी हिरासतमा I

Saturday, March 10

/ by Admin BHOLA THAPA
दीपक पौडेल /दोहा

नेपाली राहदानीमा कतार आएका २ जना भारतीय नागरिकलाई अनुसन्धानका लागि स्थानीय अपराध अनुसन्धान प्रहरीले हिरासतमा लिएको छ । भारतको पश्चिम बंगालस्थित नोदिया जिल्लाको कुइरा भन्ने ठाउँका स्याम्पुदा र भुसन्दा (उनीहरूले बताएको नाम) लाई स्थानीय प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि लगेको हो । उनीहरूलाई गत आइतवार दिउसो नेपाली दुतावासले नै प्रहरीको जिम्मा लगाएको हो ।

गत २ मार्चमा बंगला भाषी भारतीय युवा भुसन्दा नेपाली राहदानी प्रयोग गरी कतार आएपछि उनीहरूका जाली राहदानीको भेद खुलेको हो । भुसन्दालाई सम्बन्धित कम्पनीसामु बुझाउनका लागि सहयोग गर्न भन्दै दुतावासमा लिन आएका स्याम्पुदासंग दुतावासका अधिकारीले आइडी कपि मागेपछि उनी पनि २ बर्षअघि नेपाली राहदानीमा कतार आएको खुलासा भएको थियो । स्थानीय प्रहरीको अनुसन्धानपश्चात उनीहरूलाई नेपाल फिर्ता गरि थप अनुसन्धान तथा कारवाही गरिने कार्यवाहक राजदुत जय बहादुर राइले बताए । ‘नेपाली राहदानीमा आएको हुनाले उनीहरूलाई सोही राहदानीबाट पठाउनुपर्ने हुन्छ’ राईले भने– ‘अनुसन्धानका लागि केहि समय लाग्ला त्यसपछि उनीहरूलाई सोही राहदानीबाट पठाइन्छ ।’ नेपाली दुतावासमा उनीहरूबाट प्राप्त विवरणका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको दुतावासका जनसम्पर्क अधिकारी इल्ताज अल मिरघानी आदम जायदले बताए ।

चित्र बहादुर लिम्बुको नाममा खोक्लिङ–१ ताप्लेजुङको ठेगाना राखेर २९१४८३२ नम्बरमा बनाइएको जाली रहादानीमा कतार आएका २४ बर्षिय भुसन्दालाई लिन सम्बन्धित कम्पनीको प्रतिनिधि नआएपछि शुरुमा नेपाली नागरिक ठानेर उद्दार गर्ने उद्देश्यले दुतावास ल्याइएको थियो । 
उनलाई विमानस्थलबाट जीवन रानाभाट र कृष्णराजले दुतावाससम्म ल्याइदिएका थिए । दुतावास ल्याइएपछि उनले नेपाली नबोल्ने र हिन्दी पनि नबुझेको नाटक गर्न थालेपछि उनी नेपाली नागरिक नभएको रहस्य खुलेको थियो । एनएलआइसीबाट बिमा गरेको कागजात पनि उनीसंग थियो र अनुसन्धानमा क्रममा उनले काठमाडौंबाट नै कतार आएको बताएका छन् । उनले दलाललाई २ लाख रुपैयाँ बुझाएर बाँकी ३० हजार पछि बुझाउने सर्तमा कतार आएका हुन् ।
उनलाई सम्बन्धित कम्पनीमा बुझाउनका लागि सहयोग गर्न भनी आएका स्याम्पुदालाई दुतावासका अधिकारी अलिमुद्दिन मोहम्मद रसुल मियाँले आइडी कपि माग्दा उनी पनि नेपाली नामका कतारमा रहेको पाइएकोले एकपछि अर्को खुलासा भएका थिए । नेपालको ठेगाना सोध्दा स्याम्पुदाले ‘सिराहाको बेलाहा गाविस वडा नम्बर ४’ बताएपछि स्वयं दुतावास कर्मचारी अलिमुद्दिन नै आश्चार्यचकित भएका थिए । अलिमुद्दिन सोही ठेगानाका स्थायी बासिन्दा हुन् । ‘यसले त मेरै ठेगाना पो बतायो’ आश्चार्य भन्दै अलिमुद्दिनले त्यहाँ कुनै पनि प्रेम बहादुर पौडेल भन्ने ब्यक्ति स्थायी बासिन्दा नरहेको उल्लेख गर्दै उनले भने– ‘नेपाली र मैथिली भाषा पनि नजान्ने ब्यक्तिले मेरै गाउँको ठेगाना बताएपछि रहस्य खोतल्न थप सजिलो भयो ।’


सिलगुडी नजिकैको नोदियाका २२ बर्षिय स्याम्पुदा प्रेम बहादुर पौडेलको नाममा राहदानी बनाएर काठमाडौंकै बाटोबाट २ बर्षअघि कतार आएका थिए । उनी कतारको एक स्थानीय प्रतिष्ठित कम्पनीमा काम गर्दै आएका थिए । उनले नेपालस्थित दलाललाई २ लाख ३० हजार रुपैयाँ बुझाएर कतार आएको बताएका छन् । नेपालमा जमालदा भन्ने दलालले भने बमोजिमको रकम दिएपछि राहदानी बनाएर भिसा समेत झिकाई पठाउने गरेको उनले बताए । जमालदा भन्ने दलाल पनि आफ्नै गाउँले रहेको र नेपालमै विबाह गरी काठमाडौंमा बस्दै आएको उनले खुलाएका छन् ।

कतारमा रोजगारीका लागि अरु देशका कामदारहरुलाई भन्दा नेपाली कामदारहरुलाई सजिलैसँग सस्तो र सरल तरिकाले भिसा उपलब्ध हुने भएकोले भारतीय र बंगलादेशी कामदारलाई जाली राहदानी बनाएर पठाउने र मोटो रकम असुल्ने दलालहरूको संजाल पछिल्लो समयमा चिन्ताजनकरुपमा सकृय देखिँदै आएको छ । यसअघि पनि केहि बंगाली युवाहरू यसरी नै नेपाली राहदानीमा कतार आएको पाइएको थियो । कामदारहरूलाई विदेश जानका लागि आवश्यक प्रकृयाकावारेमा जानकारी नहुने तथा जाली राहदानीको प्रयोगलाई अपराधिक गतिविधीकारुपमा लिइने प्रचलित कानुनको वारेमा यथेष्ट ज्ञान नहुने हुँदा दलालहरूले नाजायज फाइदा उठाउँदा आएका छन् । यस्तो अवस्थामा निमुखा कामदारहरू प्रायशः मानव तस्करीको शिकार भएको पाइन्छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI