काठमान्डौ,२३ फागुन ।
उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले जनताको बलिदानबाट प्राप्त उपलब्धी संस्थागत गर्न राजनीतिक पार्टीहरूबीच सहमति, सहकार्य र एकताको विकल्प नरहेको बताउनुभएको छ । ‘पूर्वाञ्चल क्षेत्रको शान्ति–सुरक्षाको स्थिति, चुनौती र समाधानको उपाय’ विषयमा आज विराटनगरमा भएको सुरक्षा बैठकपछि सञ्चारकर्मीसँग उहाँले व्यक्तिगत घटनाको आधारमा सुरक्षा–व्यवस्था कमजोर भएको भन्न नमिल्ने बताउनु भयो ।
आगामी जेठ १४ भित्रै शान्ति र संविधानको काम सम्पन्न गर्न केही दिनमा नै पार्टीहरूबीच देखिएको मतभिन्नता अन्त्य हुने जानकारी दिदैँ उहाँले समग्र सुरक्षा–व्यवस्थालाई खलल पार्न सक्ने कुनै पनि काम सरकारलाई मान्य नहुने पनि बताउनुभयो । त्यस अवसरमा मन्त्री गच्छदारले सरकारले आगामी तीन महिनाका लागि विशेष सुरक्षा नीति ल्याउन लागेको जानकारी पनि दिनुभयो ।