पोखरा,
१३ चैत । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकको लापरबाहीले उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै पीडित पक्षले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् । स्याङ्गजाको फापरथुप ५ का शिवलाल ढकालकी २७ वर्षिय छोरी सुश्री गंगा ढकाललाई एपेण्डाइटिसको उपचार्रार्थ ६ दिन अघि अस्पतालमा भर्ना गरिएकोमा उपचारमा चिकित्सकको गम्भीर लापरबाही हुँदा बिरामीको मृत्यु भएको पीडितको आरोप छ । गत चैत ८ गते ढकालको अप्रेसन भैरहँदा चिकित्सकले बिरामीको किड्नी समेत खराब रहेको देखाउँदै आएका थिए ।
अप्रेसनपछि अचेत रहेकी उनलाई आइतबार दिउँसो चिकित्सकले मृत घोषणा गरेका मृतकका भिनाजू राजेन्द्र अधिकारीले बताए । उनले भने, पहिले किड्नीको कुनै समस्या नरहेको बताइए पनि घण्टौसम्मको अप्रेसनपछि किड्नीसमेत खराबी रहेको देखाउनु चिकित्सकको लापरबाही हो । बिरामलाई गत ७ चैतमा अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएको भोलिपल्ट भएको अप्रेसनपछि बिरामीलाई भेण्टिलेटरमा राखेर अस्पतालले उपचार गराउँदै आएको थियो । अस्पताल प्रशासनले भने आफ्नो कुनै पनि लापरबाही नभएको दाबी गरेको छ ।