धादिङ १८ चैत ।
विगतको वर्षमा शैक्षिक सत्र समाप्त हुने बेलामा समेत सरकारी विद्यालयका पाठ्यपुस्तक प्राप्त गर्न नसकेर समस्या भोग्दै आइरहेका धादिङ जिल्लाका विद्याथीर्, शिक्षक र विद्यालयले यो वर्ष भने समयमै पाठ्यपुस्तक पाउने भएका छन् । पाठ्यपुस्तक प्रकाशनको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै आवश्यक पाठ्यपुस्तक छपाई गरेर बिक्री वितरणका लागि साझा प्रकाशनलाई उपलव्ध गराएपछि विगतमा जस्तो पाठ्यपुस्तकको समस्या नहुने देखिएको हो ।
गत साल यस जिल्लाका विद्यार्थीहरुले आवश्यक पाठ्यपुस्तकहरुको पुरै सेट समयमै नपाउँदा विद्यार्थीहरुको पढाई समेत प्रभावित भएको थियो । यस वर्ष भने आवश्यक पाठ्यपुस्तकको करिब ७० प्रतिशत पुस्तक आइसकेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ धादिङले जनाएको छ ।
जिल्लाभर कति सेट पाठ्यपुस्तक आवश्यक पर्छ भन्ने यकिन तथ्याङ्क नभए पनि गत साल बिक्री गरेको आधारमा कक्षा एकदेखि कक्षा १० सम्मका पठ्यपुस्तकहरु यस वर्ष पुरै सेट मिलाएर ल्याएको महासङ्घले जनाएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाथी महासङ्घ जिल्ला शाखा धादिङमार्फत् एकमुष्ट पुस्तक खरिद गरि बिक्री वितरण व्यवस्था मिलाइएको र पहिला आउनेलाई पुस्तक उपलव्ध गराइने जिल्लाका व्यवसायीहरुले बताएका छन ।