काठमान्डौ २५ फागुन ।
माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने प्रक्रिया र दलहरुबीचको विवादको गाँठो फुकाउने बारेमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेस सभापति सुशील कोइरालाबीच छलफल भएको छ । आज बिहान काङ्ग्रेस सभापति कोइराला निवास महाराजगन्जमा भएको छलफलमा प्रचण्डले नेपाली सेनामा माओवादी लडाकुलाई समायोजन गर्दा गठन हुने महानिर्देशनालयमा लडाकुहरुको उचित प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गर्नु भएको थियो ।
जवाफमा काङ्ग्रेस सभापति कोइरालाले ७ बुँदे सहमति अनुसारनै लडाकुलाई समायोजन गर्नुपर्ने अडान दोहो¥याउनु भएको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । आफ्नै पार्टी उपाध्यक्ष मोहन बैद्य समूहले समायोजनकोक्रममा बन्ने महानिर्देशनालयमा सम्मानजनक स्थान नभए लडाकु समायोजनमा अवरोध गर्ने बताइरहेको बेला काङ्ग्रेस सभापतिलाई भेट्न प्रचण्ड महाराजगन्ज पुग्नु भएको हो । भेटमा शान्ति र संविधानको बाँकी काम पूरागर्ने बारेमा छिट्टै तीन दलको बैठक बोलाएर छलफल गर्ने सहमति भएको बुझिएको छ ।