Responsive Ad Slot

latest

लाङ्घालीले मनायो मगर दिवस उद्घाटन अर्थमन्त्री बर्षमान पुनबाट (फोटो फिचर सहित) I

Sunday, March 4

/ by Admin BHOLA THAPA
खगेन्द्र अधिकारी / सागर श्रेष्ठ
साउदी अरेविया -भौगोलिक विविधता र संस्कृतिक पृथकतामा रमेका नेपालीहरु विश्वको जुनसुकै स्थानमा रहेपनि आफ्नो मातृभूमि, परम्परा र संस्कृतिको जगेर्ना प्रति एकरुपताका साथ लागिपरेका छन् । विभिन्न कामको सिलसिलामा खाडी मुलुकहरु मध्येको ठूलो र कडा कानून भएको देश साउदी अरेविया । यस देशमा करिब छ लाखको हाराहारीमा नेपालीहरु रहेका छन् । नेपाल विभिन्न जातजाती र भाषाभाषिको धनि देश । विभिन्न धर्म, संस्कृति र परम्पराले एउटा छुट्टै महत्व बोकेको छ नेपालमा । यिनै विभिन्न जातजातीहरु मध्ये एउटा छुट्टै विशेष खालको मौलिकता र संस्कृति बोकेको जाती हो मगर । प्रवासमा समेत आफ्ना परम्परा संस्कृति र हक अधिकारहरुको लागी एकताबद्ध रुपमा लागिरहेका नेपालीहरु विभिन्न संघ संगठनहरुमा आवद्ध छन् । यसै अन्तरगत मगरहरुको संगठित संस्था प्रवासी लाङ्घाली मगर संघको आयोजनामा ३० औं मगर दिवस साउदी अरेवियाको राजधानी रियादमा यही मार्च २ तारिख २०१२ का दिन एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।
३० औं मगर दिवस भएकोले ३० वटा ममबत्ति बालेर कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्थमन्त्री बर्षमान पुनले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न वक्ताहरुले शुभकामना मन्तव्यमा आफ्ना शुभकामनाका शब्दहरु प्रस्तुत गर्नुभएको थियो । प्रवासमा रहेर विभिन्न क्षेत्र र पेशामा संलग्न नेपालीहरुले आशाको केन्द्रको रुपमा हेरिएका अर्थमन्त्रीले आफ्नो शुभकामनाको मन्तव्यका क्रममा करिब ५० हजार नेपालीहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिने र बेरोजगारीहरुको लागी बेरोजगार भत्ता समेतको व्यवस्था गर्ने तयारी गरिरहेको जानकारी गराउनु भयो । मन्तव्यकै क्रममा उहांँले भन्नु भयो– देश संघिय राज्यप्रणालीमा जाने र संघिय प्रणाली हुँदा कसैलाई पनि कुनै समस्या नपर्ने अनि कोही पनि राज्यको सुविधाबाट बन्चित हुनु पर्ने छैन । साथै साउदी अरेवियाका अर्थमन्त्रीसंगको औपचारिक भेटमा नेपालीहरुको समस्या, सुविधा, सहुलियतका साथै नेपालमा औद्योगिक लगानी तथा साउदी अरेवियाको राजदूतबास नेपालमा स्थापना गर्नको लागी अनुरोध गर्ने स्पष्ट पार्नु भएको थियो ।
नेपाल सरकारका अर्थमन्त्री बर्षमान पुन अनन्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथि साउदी अरेवियाका लागी नेपाल राजदूत महामहिम उदयराज पाण्डे रहनुभएको थियो । अर्थ मन्त्रालयका सहसचिव लालशंकर घिमिरे, परराष्ट्र मन्त्रालयका सहसचिव प्रल्लाद कु. प्रसाई, आदिवासी जनजाती महासंघ साउदी अरेवियाका अध्यक्ष हुम सुनारी मगर, समाजसेवी दिलचन बुढामगर, प्रवासी लाङ्धाली मगर संघका अध्यक्ष विष्णु बहादुर थापा मगर, नेपालदेखि आउनु भएका ख्यातिप्राप्त लोकगायक खड्ग गर्बुजा, विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाका अध्यक्ष खगेन्द्र अधिकारी अमृत प्रवासी नेपाली डटकमका डिरेक्टर सागर श्रेष्ठ, लुम्बिनी प्रवासी मञ्चका अध्यक्ष मनोज विष्ट, गैर आवासिय नेपाली संघ साउदी अरेवियाका अध्यक्ष धरम केसी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
दुई चरणमा विभाजित कार्यक्रममा औपचारिक कार्यक्रमको अन्तमा नेपाली भौगोलिक स्पष्टता झल्कने खालका फोटोफ्रेमहरुले कार्यक्रमका प्रायोजकहरु फ्रेन्डली मोवाइल, ओमन एअर, इतिहात एअर र हिमाल रेमिटका प्रतिनिधिहरुलाई मायाको चिनोका साथै प्रशंसा पत्र उपलब्ध गराइएको थियो । औपचारिक कार्यक्रमको सभापतित्व कार्यक्रमका संयोजक सरोज आले मगरले गर्नु भएको थियो भने औपचारिक कार्यक्रम जय आलेले संचालन गर्नुभएको थियो । औपचारिक कार्यक्रमको प्रमुख झलकहरु पिएनएन अनलाइन रेडियोले अनलाइन मार्फत प्रत्यक्ष प्रशारण समेत गरेको थियो । कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो । स्मरण रहोस कार्यक्रम हलमा प्रवेश गर्ने दर्शकहरुले हातमा बोकेका पानीका बोतलहरु समेत भित्र लिन पाएका थिएनन् ।
कार्यक्रमको दोस्रो चरण अनौपचारिक चरणमा नेपाल देखि आउनु भएका ख्यातीप्राप्त लोक गायक खड्ग गर्बुजाले उपस्थित दर्शकहरुलाई आफ्नो सुरिलो श्वरले मन्त्रमुग्घ पारेका थिए भने स्थानीय कलाकारहरुको समेत जोडदार प्रस्तुती रहेको थियो । अर्को तिर अर्थमन्त्री लगायत महामहिम राजदूत, राजदूतावासका अन्य कर्मचारी परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका सहसचिव समेतको उपस्थितिमा साउदी अरेवियामा रहेका संघ संस्थाका प्रम्ुख तथा प्रतिनिधिहरुसंग एनआरएनएका प्रतिनिधिहरु सहितको एक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । अर्थमन्त्री बर्षमान पुन साउदी अरेवियाको २ दिने भ्रमण सम्पन्न गरी मार्च ३ तारिखका दिन ओमन जाने कार्यक्रम रहेको बताईएको छ ।
स्मरण रहोस नेपाल देखि तीन जना कलाकारहरु आमन्त्रण गरिए पनि प्राविधिक कठिनाईका कारण लोकगायक खड्क गर्बुजा मात्र आएका थिए भने गायिका मुना थापा मगर र नृत्याङ्गना पार्वती राई आउन नसकेकोमा आयोजकले दर्शक सामु क्षमायाचना गरेका थिए ।


अन्तरवार्ता बर्समान पुन संग
http://www.youtube.com/watch?v=QNHEcOSddlo&list=HL1330831894&feature=mh_lolz
Don't Miss
© all rights reserved
made with by netKUTI