Responsive Ad Slot

latest

कविता -"थिएटरको अन्तिम दृश्य" I

Monday, March 11

/ by Admin BHOLA THAPA
—राजेश्वर ढकाल



पैयुँका फुलहरुमा
मुस्कुराई रहेको होला
एउटा उदास प्रहर
जुनको शितलतामा
गीत गाउदै होला
सारङ्गी दाई
नदीको चञ्चलतामा
नाउ खियाउदै होला
अबोध माझी दाई
प्रीतिकर साँझमा
प्रतिक्षारत होलीन्
कुनै अनाम प्रेयसी
ठिक—
त्यसरी नै आहत भएर
एकल चखेवाझै
खोजिरहेको छु
म मेरा दौतरीहरु

हिजोका ती अग्लाअग्ला पर्वतहरु
आज कस्तरी होचा भएका ?
खैरेनीका तरुनीहरु
किन यति बिघ्न कुरुप भएका ?
गण्डकी पानी धमिलो छ
गोरखाको किल्ला ढल्दो छ
सम्झनाका साना गोरेटोहरु
स्मृतिको ठुलो चौताराहरु
सबैसबै—
थिएटरको अन्तिम दृश्यजस्तै
क्षणभङ्गुर भएको यो समय
म सम्झीरहेछु
मेरा बाल सखाहरु

बिहानीको ज्यानमारा हुस्सु
र मरुभुमीको तातो हावा
बिच बाँच्नु पर्ने अर्थात
बाँचिरहेको यो एकलकाटे जीवन
मानिस हनुको तिक्तता
मानिस हुनुको नियती
मानिस हुनुको गर्व—ले
जिन्दगी सबैसबै छरपस्ट भएकोछ
यो स्वप्न शहरको प्रत्येक गल्लीहरुमा
ऐ—
देउरालीको चिसो हावा
गण्डकीको कन्चन पानी
भनिदिनु है
मेरा दौतरीहरुलाई
सम्झाई दिनु है
मेरा बाल सखाहरुलाई
जीवन—
थिएटरको अन्तिम दृश्यजस्तै
पलभरमा रित्तिजाने दृष्ट्रि भ्रम मात्र रहेछ ।


बगुवा–६ गोरखा
हाल : कतार
Don't Miss
© all rights reserved
made with by netKUTI