Responsive Ad Slot

latest

सरकारले औचित्य सकियो, विकल्प राजीनामा : प्रतिपक्षी I

Thursday, March 22

/ by Admin BHOLA THAPA
सिन्धु ढकाल, ९ चैत/ प्रतिपक्षी दलहरूले वर्तमान सरकारको औचित्य समाप्त भइसकेको बताउँदै यसको विकल्पका लागि तत्काल राजीनामा रहेको घोषणा गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्काल राजीनामा दिएर सहमतिको वातावरण बनाउन आग्रहसमेत गरे । राजधानीमा आज (बिहीबार) आयोजित साक्षात्कारमा नेपाली कांग्रेस नेता डा. रामशरण महत र नेकपा एमाले नेता शंकर पोखरेलले राष्ट्रिय सरकारका लागि बाटो खुला गरिदिन आग्रह गर्नुभएको हो ।

नेता महतले यो सरकार अवसरवादी भएको भन्दै दलगत हितका लागि मात्रै यो सरकारले काम गरेको आरोप लगाउनुभयो । उहाँले मधेसी मोर्चालाई प्रयोग गरेर माओवादीले र माओवादीलाई प्रयोग गरेर मधेसी मोर्चाले दलगत स्वार्थमात्रै पूरा गरेकाले यो सरकार राष्ट्रियताविरोधी भएको तर्क गर्नुभयो ।

शान्तिप्रक्रियाका सम्बन्धमा वर्तमान सरकारसँग केही आशा गरिएको भए पनि सरकारकै कामले गर्दा शान्तिप्रक्रियामा असर परेको नेता महतको भनाइ छ । एमाले सचिव शंकर पोखरेलले प्रधानमन्त्री बाबुराम भट्टराईलाई असफल बनाउन आमसञ्चार माध्यम र बौद्धिक वर्गको ठूलो हात भएको उल्लेख गर्नुभयो ।

अनावश्यक रूपमा आमसञ्चारमाध्यमले उचालेकाले नै प्रधानमन्त्री भट्टराई असफल भएको उहाँको भनाइ छ । जसले गर्दा सरकारको असफलतासँगै सरकार पछाडिका धेरै मानिसहरू असफल भएको सचिव पोखरेलले जिकिर गर्नुभयो ।

यस्तै सोही साक्षात्कारमा माओवादीका नेता हरिबोल गजुरेलले भने वर्तमान सरकार अझै असफल भइनसकेको तर्क गर्नुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने वेला आएपछि वर्तमान सरकारलाई असफल भन्न नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले नै शान्तिप्रक्रियाले गति लिन्छ ।’


Don't Miss
© all rights reserved
made with by netKUTI