काठमाडौ, फाल्गुन १७ - प्रहरीले घटनाका मुख्य योजनाकार देवराज लामा 'विश्वक्रान्ति' नै भएको बताएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले आफ्नो वेबसाइटमा लामाको फोटो राखेर घटनाका योजनाकार उनी नै रहेको बताएको हो ।

उता धादिङ प्रहरीका अनुसार केही वर्षअघिसम्म लामा त्यस क्षेत्रमा गुन्डागर्दी गर्थे । सानोतिनो ग्याङ बनाएर धादिङको खानीखोलादेखि मकवानपुरको पालुङसम्मको इलाकामा विभिन्न सवारी साधन रोकेर लुटपाट गर्थे । 'खानीखोलादेखि पालुङसम्मको ५० किलोमिटर बाटोमा एउटा पनि प्रहरी पोस्ट छैन, हामीले धेरै समयदेखि त्यस क्षेत्रमा पोस्ट राख्न मुख्यालयको ध्यानाकर्षण गराउँदै आएका छौं तर कार्यान्वयन भएको छैन,' धादिङ प्रहरी स्रोतले भन्यो । एक समय माओवादी समर्थक बनेका उनी एक वर्षयता जातीय मोर्चामा सम्बद्ध भई चन्दा आतंक मच्चाउँदै आएका थिए । लुटपाटकै मुद्दामा गत वैशाखमा पक्राउ परेका लामा भदौतिरमात्र जेलबाट छुटेको प्रहरीले जनाएको छ । लामाले आफ्नै समूहका व्यक्ति प्रयोग गरी विस्फोट गराए पनि कसैको इसारामा काम भएको हुन सक्ने प्रहरी मुख्यालय स्रोतले बतायो ।
प्रहरीले गत माघमा मात्रै पूर्वका जिल्लाहरुबाट यो समूहका ७ जनालाई पक्राउ गरेको थियो । विभिन्न सशस्त्र समूहलाई सत्तारूढ दलले नै मध्यस्थता गरी फूलमालासहित वार्तामा बोलाउने गरेको र आफूहरूविरुद्ध भने सुरक्षा कारबाही तीव्र पारेकाले शक्ति प्रदर्शन गरी वार्तामा बोलाउन बाध्य पार्ने हिसाबले घटना गराएको हुनसक्ने प्रहरी स्रोतले बतायो । साभार : ईकान्तिपुर डट कम बाट