काठमाडौँ, फागुन १० गते ।
चीन र जापानका मन्त्रीहरू नेपाल भ्रमणका लागि आज अपराह् काठमाण्डौ आउँदै हुनुहुन्छ । सरकारको निमन्त्रणामा जनगणतन्त्र चीनका वन प्रशासनमन्त्री जिया झिबाङ चार दिने औपचारिक भ्रमणमा नेपाल आउन लाग्नु भएको हो । चिनियाँमन्त्रीले आफ्ना नेपाली समकक्षी वन तथा भूसंरक्षणमन्त्री मोहम्मद वकिल मुसलमानसँग औपचारिक वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–चीन संयुक्त वन कार्यदलको पहिलो बैठक पनि काठमाडौँमा हुनेछ ।
यसैगरी, जापानका उपविदेशमन्त्री कोरो बेस्हो पनि आजै दुई दिने औपचारिक भ्रमणका लागि आउँदै हुनुहुन्छ । जापानी विदेश मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ नेपाल आउनुहुने भएको हो । जापानी टोलीले नेपालमा रहँदा प्रधानमन्त्री डा बाबुराम भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बेग्लाबेग्लै भेट गर्नुहुने छ । त्यस्तै राजनीतिक दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।