चितवन माघ २४ गते ।
चितवन राष्ट्रिय निकुञ्जको रात्री गस्तीमा रहेको नेपाली सेनाले चलाएको गोलीले हिजो साँझ एकजनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीका अनुसार मृत्यु हुनेमा पुर्वी चितवन पिप्ले २ का रेशम चेपाङ रहेका छन। सोही ठाउँमा रामकृष्ण चेपाङ पक्राउ परेका छन। निकुञ्ज सुरक्षाका लागि तैनाथ नन्दबक्स गणका गणपति कर्णेल रामचन्द्र केसीका अनुसार निकुञ्जको पुर्वक्षेत्रमा रहेको राप्ती र लोथर खोलको दोभान नजिक निकुञ्ज भित्र साँझ साढे सात बजे सो घटना भएको हो। घटना स्थल सदरमुकाम भरतपुरदेखि ३० किलो मिटर पुर्वमा रहेको छ।
निकुञ्ज भित्रबाट काठ बोकेर आएको टोलीसँग गस्ती टोलीको मुठभेद हुँदा सो घटना भएको केसीले बताउनुभयो ।निकुञ्ज भित्र अनुमति बिना प्रवेश गर्न बन्देज छ। काठ दाउँरा, जस्ता कुनै पनि चिजहरु बाहिर ल्याउन पाइदैन। काठ तस्करी गरेकाहरुलाई रोक्न खोज्दा भाग्न लागेपछि गोली चलाउनु परेको कर्णेल केसीले बताउनुभयो। मृतकको टाउँकोमा गोली लागेको उहाले जानकारी दिनुभयो ।