दमौली, माघ २९,
युवाहरुलाई संगठित गर्दै विकृति र विसंगति विरुद्धको अभियान चलाएको खैरेनीटार स्थित नवयुवा युनाइटेड क्लवले गरिब, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
आर्थिक विपन्नताका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्यका साथ क्लवले फागुन ६ गते साङ्गितिक कार्यक्रम गर्न लागेको हो । ‘खैरेनी क्षेत्रमा अध्ययनरत अनाथ, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो,’ क्लवका अध्यक्ष सुरजकुमार श्रेष्ठले भने ।
सेकेण्ड नव युनाइटेड लाइभ कन्सर्ट नाम दिइएको कार्यक्रममा चर्चित पप गायक सुगम पोख्रेल, रोविन एण्ड न्यु रिभोलुशन, माउण्ट ८८४८ र स्थानीय कलाकारको प्रस्तुती रहने क्लवका निवर्तमान अध्यक्ष अशोक रानाले बताए । खैरेनीटारस्थित सरस्वती कन्या मावि प्राङ्गणमा हुने कार्यक्रम १५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको उनले बताए । टिकटको मूल्य १ सय रुपैयाँ तोकिएको छ ।
खैरेनीटार गाउँ विकास समिति, तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई समितिको सहयोगमा हुन लागेको कार्यक्रममा ५ लाख ८५ हजार आम्दानी र ४ लाख ६० हजार खर्च हुने अध्यक्ष श्रेष्ठले बताए । ‘नाफा हुने १ लाख २५ हजारबाट छात्रवृत्ति र शैक्षिक सहयोग गर्नेछौं,’ उनले भने ।
गत वर्ष आयोजना गरिएको साङ्गितिक कार्यक्रमबाट नाफा भएको १ लाख १५ हजारमध्ये १० हजार सरस्वती मावि, १० हजार खैरेनी उच्च मावि, १० हजार मृगौला रोगीलाई सहयोग गरिएको र ५५ हजार युवाको व्यक्तित्व विकास र खेलकुदको क्षेत्रमा खर्च गरिएको उनले बताए ।इ तनहुँ