पाल्पा, फाल्गुण १५ गते ।
नेपाल मगरसंघ जिल्ला समिति पाल्पाले ३० औं मगर दिवस सम्पन्न गरेको छ । तानसेनमा आयोजित मगर दिवसमा बोल्दै प्रमुख अतिथि मोहन थापा मगरले मगर लगायत आदिवासी जनजातिहरु दलिय राजनीति भन्दा माथि उठेर राज्यसंरचनासँग राजनीति गर्नु पर्ने बताउनु भयो ।

उनीहरुले २१ औं शताब्दीका मगरहरु अव कसैको पनि भ¥याङ्ग नबनेर आफ्नो छुट्टै पहिचान बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । मगरसंघ पाल्पा अध्यक्ष बल बहादुर गाहामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रिय सदस्य लाल कुमारी राना, सल्लाहकारद्धय बल बहादुर राना र ओम घर्ती, नेकपा एमाले केन्द्रिय लेखा परीक्षण समितिका सदस्य धनेन्द्रराज घिमिरे, एनेकपा माओबादीका सहईन्चार्ज चक्रव्यू थापा, नेपाली काँग्रेसका सभापति बिर बहादुर राना, आदिवासी जनजाति महासँघका सल्लाहकार अशोक कुमार शाही र सचिव त्रिरत्नलाल शाक्य लगायतले बोलेका थिए ।
यसै वीच मगर दिवसकै अवसरमा प्रथम शहिद लखन थापामगरको स्मृति दिवसमा आयोजित निवन्ध प्रतियोगिताका विजयी विद्यार्थी र २०६८ सालको देउसी भैलो कार्यक्रममा आर्थिक सहयोग गर्नु हुने महानुभावहरुलाई कदर पत्रले सम्मान गरिएको संघका सहसचिव हरि बहादुर सारुले बताउनु भयो । लखन थापामगरको जीवनी विषयक उक्त निबन्ध प्रतियोगितामा रोशनी थापा मगर प्रथम, सृजना सारु द्धितिय र विकास थापा मगर तृतिय भएका थिए ।
नेपाल मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष धनी सारुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संघका सचिव असवीर सारुले गर्नु भएको थियो । आजै पाल्पाको विभिन्न गाविसहरुमा पनि विविध कार्यक्रमका साथ ३० औं मगर दिवस मनाईएको मगर संघ पाल्पाले जनाएको छ । मगरहरुको हक अधिकार र मगर सस्कृति, रहनसहन र रितिरिवाजलाई संरक्षण गर्ने उदेश्यले आज भन्दा २९ बर्ष अधि नेपाल मगर संघको स्थापना भएको थियो ।