यज्ञमूर्ति तिमिल्सिना
युग, विकास र जनतामा समयानुकुल परिवर्तनको प्रत्याुभति सायद आज नेपालका हरेक क्षेत्रका बासिन्दाले गर्दैछन् । तर कतिपय अवस्थामा भौगोलिक अवस्था, सामाजिक, आर्थिक, राजनीतिक एवम् साँस्कृतिक रहनसहन जसले पनि परिवर्तनका लागि प्रभाव पार्दो रहेछ । आज पाल्पाका पूर्वी भेगका एक दर्जन गाविसका बासिन्दाले युगानुकूल परिवर्तनको त्यति महसुश गर्न सकेका छैनन् । विकसित तानसेन या आसपासका गाविसमा बसेर पत्रिका पढ्नेहरुका लागि यो लेखले केही हदसम्म आश्चर्य तुल्याउन सक्छ । जुन बस्तीका कुरा मैले लेखमा समावेश गरेको छु, जसको पीडा र संघर्ष अनुभूति जस्ताको तस्तै उतारेको छु उनीहरुका लागि यो लेखले भारी बिसाउने चौतारीको अनुभूति दिलाउनेछ । यसर्थ पनि मैले यो लेखमा अर्चलेबासीको मात्रै नभएर समग्र पूर्वी पाल्पबासीको प्रतिनिधित्व गराउने प्रयत्न गरेको छु ।
मुलुकले हरेक राजनीतिक अवतरणहरुलाई पार गर्दै लोकतान्त्रिक गणतन्त्र नेपालको संज्ञा पाएको छ । नयाँ संविधान बनाउने चटारो छ, राज्य पुर्न संरचना र यसको दीगो बिकासका लागि हरेक क्षेत्र र समुदायमा बहस र छलफलका प्रयासहरु भएका छन् । तर यहाँका बासिन्दामा ग्रामीण विकासको चिन्ता छ, बिजुली बत्ती बाल्न पाउने घृकिसो मन भरि भरिएको छ । जसको समाधानका लागि खासै पहल भएको देखिदैन । बावु बराजुले जुन धर्तीमा जसरी पसिना बगाए आजका सन्ततीले पनि त्यही अवस्थाको सामाना गर्नुृ पर्ने अवस्था रहनु हामी सबैका लागि चुनौतीको विषय पनि हो । जहाँ लोकतन्त्र र त्यसको पर्याय परिवर्तन कुनै पनि कुराको प्रत्याभूति गर्न नसर्किएको स्थानीय बासिन्दाहरुको गुनासो छ ।
यीसे मिजाओ क्यामेरा सेच आले मैले उनीहरुको तस्विर मेरो क्यामेरामा कैद गर्दैतस् । बुढापाकाहरुले आपसमा कुरा गर्दै थिए । उनीहरुले आफ्नै भाषामा यो केटाले ल्याएको क्यामेरा त खुबै राम्रो रैछ नी भन्दैं थिए । मैले क्लिक क्लिक दुई चारवटा फोटा खिचे र क्यामेराबाटै उनीहरुको फोटो देखाए । सबैजना गलल्ल हासे र मैतिर फर्केर प्रति प्रश्न गरे यो फोटो टिभीले देखाउँछ बावु ? मैले तपाईहरुको फोटो पत्रिकामा छापिन्छ र तपाईहरुलाई नै पठाइदिन्छु भनेर जवाफ दिए । उनीहरु आफै आफैमा मख्ख थिए । सायद त्यहाँ सहभागी कतिपय बुढाबुढीहरुलेृ डिजिटल क्यामेरा पहिलोपटक देखेका थिए र आश्चर्य ब्यक्त गर्दै थिए ।
पूर्वी पाल्पाको अर्चले गाविस स्थित गोरखनाथ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सहभागी हुन केही दिन अघि अर्चले पुग्दाको यो प्रत्यक्ष र रमाइलो अनुभव हो । लाइन बद्ध बसिरहेका केटाकेटी फेरि हुर्रर मोटरबाटा तिर हुइकिए, सायद अर्को नयाँ जीप त्यहाँ आइपुगेको हो । जसरी हामी जीप चढेर अर्चले पुग्दा केटीकेटीहरुको लामबद्ध समूह गाडी हेर्न उभिएको थियो । संविधानसभाकी उपसभामुख पूर्ण कुमारी सुवेदी स्वर्ण महोत्सवका लागि प्रमुख अतिथि थिईन् । उनीसँगैं तानसेनबाट अर्चले पुग्दा र त्यहाको छोटो बसाईको क्रममा प्रत्यक्ष रुपले अर्चलेमा धेरै कुरामा परिवर्तनको प्रत्याभुति हुन नसकेको प्रष्ट बुझियो ।
रुम टु रिडका संस्थापक जोन उडले लेखेको माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म भन्ने पुस्तकमा लेखिएजस्तै म कुनै त्यस्तै एउटा बस्तीमा पुगेको छु भन्ने अनुभुति मलाई त्यति बेला भएको थियो । अर्चले डाँडोमा उभिएर वारीपारी नियाल्दा र शिक्षक अभिभावकहरुको क्रियाकलाप हेर्दा म त्यस्तै बसती छु जुन बस्तीमा जोन उड पुगेर पुस्तक लेखे र लाखौ पुस्तकहरु हजारौ बिद्यालयहरुसम्म पुर्याउने प्रयत्न गरे । विद्यार्थी र अभिभावकहरु आ आफ्नै तरिकाले मगरी भाषामै कुरा गरिरहेका हुन्छन् । कुनै नौलो बस्तु या अवस्थामा उनीहरुमा आ आफैमा खुशी हुँदै हास्छन् र रमाउँछन् ।
जनताले दुःख सुख लगानी गरेर या जनश्रमदान गरेर गाउँमा मोटरेबाटो पुर्याए । स्कुलले ५० औं वर्ष पुरा गर्यो तर यहाँका बासिन्दामा युगानुकूल परिवर्तनको प्रत्याुभति छैन । ४ घण्टा पैदलबाटै चामल बोकेर छाक टार्न केही सहज भयो यानिकी गाउँमा जीप ट्याक्टर पुग्न थाल्यो । यसले केही हदसम्म राहत दिएको छ तर नियमित सवारी साधनहरु चलाउन बाटो अप्ठ्यारो भएकोले रिजर्वमा गाडी लैजानुपर्ने भएकोले महंगो मूल्य तिर्न बाध्य छन् । यसतर्फ ध्यान दिई नियमित जीप चल्ने अवस्थाको वातावरण मिलाउने सम्वन्धित सरोकारवालाको ध्यान जानुपर्छ ।
जिल्ला सदरमुकाम तानसेनको बसाई र यहाँ क्रियाशील पत्रकारिताको पाइलासँगै अर्चले यात्राले ग्रामीण क्षेत्र केन्द्रीत पत्रकारिताका लागि मलाई हौसायो । जहाँका बासिन्दाले ल्यापटप, क्यामेरा र अन्य आधुनिक उपकरणहरु देख्दा आश्चर्य ब्यक्त गर्छन् त्यहाँ सञ्चार विकासको हालसम्मको प्रभाव मुल्यांकन गर्नु त्यति सहज छैन । स्थानीय कला, संस्कृति, रितीरिवाज, भाषा र कार्यशैली एवम् असल कार्यब्यवहारका धनी अर्चलेका बासिन्दाले जसरी गाउँमा गाडी पुग्दा हर्ष गरे त्यसै गरि झिलिमिली बिजुली बालेर कलर टेलिभिजन हेर्ने इच्छा जाहेर गरेका छन् । टुकी र लालटिनको साहारामा बुढेसकालको यात्रा गरिरहेका कतिपय बुढापाकाहरुको बिजुली बालेर मर्ने घृकृसो छ ।
पुर्वी पाल्पाको बाकामलांग, मित्याल, झिरुवास, गल्धा, अर्चले, ज्यामिरे लगायतका आधा एक दर्जन गाविसका अधिकांश बासिन्दाले अझै पनि बिजुली बाल्न पाएका छैनन् । खासगरि बिजुली बत्तीको अभावमा एकातिर अध्यारोमा रात गुजारेका छन् त्यो भन्दा बढी उनीहरुले चेतना अध्यारोमा पिल्सन बाध्य छन् । बिजुली बत्तीको अभावमा धक फुकाएर रेडियो बजाउन पाएका छैनन्, टेलिजिभन हेर्ने अवसरबाट बञ्चित छन् जहाँ पत्रपत्रिकाको उपलब्धता छैन । जसका कारण विभिन्न जनचेतनामूलक अभियानले यहाँसम्म प्रभाव पार्न सकेको देखिदैन । जसले गर्दा पनि स्कुल जानुपर्छ र पढ्नुपर्छ भन्ने विषयमा कतिपय अभिभावकहरुमा चेतना पुग्न सकेको छैन जसका कारण कतिपय बालबालिकाहरुले चाहेर पनि निरन्तर विद्यालयमा गई अध्ययन गर्ने अवसर पाएका छैनन ।
गाउँमा बुढापाकाहरुले निकै मेहनत गरे स्थापना गरेको स्कुल खुलेको ५० वर्ष पुगेछ । सुरुमा २ जनाले पढाउने स्कुलमा अहिले एक दर्जन शिक्षक शिक्षिकाहरुले अध्ययापन गराउछन् । त्यसलाई एउटा राम्रै पक्ष मान्नुपर्छ । अर्कोतिर अधिकांश मगर समुदायको बसोवास रहेको यस क्षेत्रका केटा केटी घरमा सदा मगर भाषा बोल्छन् तर विद्यालयमा आफ्नो मातृभाषा अर्थात मगरीमै पढ्ने अवसर नहुँदा थप समस्या खेप्न बाध्य छन् । यसर्थ मातृभाषा अर्थात मगरी भाषामा शिक्षा दिने ब्यवस्था मिलाउन सके थप प्रभावकारी हुने कतिपय अभिभावकहरुको धारणा छ । मातृभाषामा शिक्षा प्रदान गर्दा विद्यार्थीहरुले सहज रुपले बुझ्न र लेख्न सक्ने अनि पढाईप्रति समेत ध्यान दिन सक्ने भएकोले यसको ब्यवस्थापनका लागि जिल्ला शिक्षा कार्यालय एवम् अन्य शिक्षासँग सरोकार राख्ने ब्क्ति एवम् संस्थाहरुले ध्यान दिनुपर्छ । यो अवस्था अर्चलेमा मात्रै हैन छिमेकी केही गाविसहरुमा समेत तड्कारो रुपमा रहेको छ । यसर्थ भाषा समस्या र विद्यार्थीहरुको अवस्थालाई पहिचान गरि माृतृभाषामा शिक्षा लागू गराउनका लागि जिल्ला शिक्षा कार्यालय पाल्पाको सक्रियतामा पहल गरिनु जरुरी छ । जसले गर्दा भाषाको समस्याका कारण बालबालिकाहरुले बीचैमा कक्षामा सहभागी हुन छाड्ने अवस्थाको सृजना नहोस् ।
जिल्लाको आर्थिक, सामाजिक, राजनीतिक एवम् साँस्कृतिक विकास र पहिचानका लागि पूर्वी पाल्पा र यहाँका बासिन्दाहरुको भूमिका अतुलनीय छ । खासगरि उनीहरुले आफैमा परिवर्तनको अनुभव गर्न नपाउनु निकै दुःख दायी कुरा हो । यहाँ कतिपय कुराको राम्रो विकास र परिवर्तन भएको छ जसको खुलेर सराहना गर्नुपर्छ । तर अहिलेको पुस्ताको अपेक्षा गरेको परिवर्तनको मार्ग खुलाउनका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नैपर्छ । एकातिरको आँधी अर्कोतिरको झोलुंगो भनेझै पाल्पाको समग्र विकासको लागि आएको बजेटमा पूर्वी पाल्पाका गाविसकहरुको युगानुकुल परिवर्तनका लागि लगानी गर्दै उक्त कार्यमा स्थानीय बासिको समेत सक्रिय सहभागिता गराउनेतर्फ ध्यान दिनुपर्छ ।