रवि रोषी - स्याङ्जा जिल्ला सिरकोट गाविस वडा नं. ८ का चन्द्र बहादुर सार्की ११ महिना अगाडि कतार आएका थिए । गाउँमा साहु काढेर काठमाण्डौँमा ठूलो रकम बुझाई कतार आएका उनी कतार छिरेका थिए । कतार आईसकेपछि तोकेको भन्दा न्युन तलवमानमा काम गर्छु भनी सही छाप गर्न लगाएको र ८ घन्टा भन्दा बढि काम गर्न लगाउने र काम गरेको ज्याला र ओभरटाईम दुवै नपाएपछि उनी कम्पनी छोडेर भागेका थिए ।
भागेर काम गर्दै गर्दाको अवस्थामा आफु कार्यरत कार्यस्थलको एकतला बाट उनी भुईंमा बजारिन पुगे । टाउकोमा गम्भीर चोट लागेका सार्कीलाई कतारको हमाद अस्पतालको ४२८ नं. कोठाको बेड नं. ४ मा भर्ना गरी राखिएको छ । ५ मार्च २०११ का दिन कतार छिरेको उनी कम्पनी छोडेर अन्यत्र काम गरेको कारणले उनले पाउनु पर्ने वीमाको बारेमा भने अन्यौल भएको छ । भिसाको म्याद ननाघेको र पहिला कार्यरत कम्पनीले उनको वीमा गरिदिएको भएपनि उक्त कम्पनीले सो बारे पहल गर्ने नगर्ने कुनै निक्र्यौल नभएको स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालले बताए । अस्पतालमा गएर उनको स्वास्थ्य स्थितीको जानकारी लिएर फर्कीसकेपछि अध्यक्ष अर्यालले भने, यदि पहिलेको कम्पनीले उनको वीमाको बारेमा कदम चालिदिएमा उनले लगभग नेपाली २० लाख क्षतिपूर्ति बापत पाउनेछन् ।