Responsive Ad Slot

latest

काठमाडौँमा आज भएको बम विस्फोट रिमोटबाट गराइएको हुनसक्ने I

Monday, February 27

/ by Admin BHOLA THAPA
काठमान्डौ फागुन १५ गते ।
काठमाडौँमा आज भएको बम विस्फोट रिमोटबाट गराइएको हुनसक्ने उच्च प्रहरी अधिकारीले बताएका छन्। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख कुबेर रानाले भने, 'पेट्रोल बम नभई विस्फोटक पदार्थ राखेर पड्काइएको हो, रिमोट पनि हुनसक्छ।'
गृह प्रवक्ता शंकरप्रसाद कोइरालाले घटनामा ६ जना घाइते भएको पुष्टि गरे। घाइतेहरुमा सोमबहादुर तामाङ, लालबहादुर तामाङ, बासु श्रेष्ठ, भीमबहादुर कुँवर, मानबहादुर कुँवर र रघुनाथ खड्का छन्। खड्का रेडियो नेपालका कर्मचारी रहेको खुलेको छ।

छानबिन टोली गठन
विस्फोटको छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा अनुसन्धान टोली गठन भएको छ। टोलीमा महानगरीय अपराध महाशाखाका प्रमुख देवेन्द्र सुवेदी, आयुक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक केदारमान सिंह भण्डारी र अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक सुबोध घिमिरे सदस्य छन्।

तीनको मृत्यु, दुईको सनाखत
राजधानी काठमाडौँको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। एकको वीर अस्पतालमा पुग्नासाथ मृत्यु भएको हो। घटनामा मृत्यु हुने मध्ये धादिङ बैरेनी १ का ३५ वर्षीय कृष्णबहादुर तामाङ र सोही स्थानका निवासी मानबहादुर तामाङको मात्र सनाखत भएको छ। ६०-६५ वर्षका बाँकी एकको सनाखत हुन बाँकी रहेको महानगरीय प्रहरी परिसरले बताएको छ।

परिसरका प्रवक्ता धीरजप्रताप सिंहका अनुसार घटनामा ७ जना घाइते भएकोमा बाराका ३५ वर्षीय सोमबहादुर तामाङको अवस्था सिकिस्त छ। ती बाहेक अरुको अवस्था सामान्य छ। प्रहरीले इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेर विस्फोट गराइएको बताएको छ। विस्फोट गराउनेको पहिचान भइसकेको र चाँडै नै पक्राउ पर्ने उनले बताए।

यो सुरक्षा कमजोरी हैन थ्रेट हो : गृहमन्त्री
यसैबीच गृहमन्त्री विजयकुमार गच्छदारले मृतक परिवारलाई राहत तथा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिएको नागरिकन्युजका मदन चौधरीले बताएका छन्। घटनास्थलको निरीक्षणपछि घाइतेको अवस्था बुझ्न वीर अस्पताल पुगेका गृहमन्त्रीले घटना 'निन्दनीय' भएको टिप्पणी गरे। 'यो सुरक्षा कमजोरी भन्दा पनि थ्रेट (धम्की) हो', सञ्चारकर्मीसँग उनले भने- 'घटना दुःखद र निन्दनीय छ।'

केही समयमा सुरक्षा निकायको बैठकपछि थप जानकारी दिइने उनले बताए। गृहमन्त्रीले प्रारम्भिक रिपोर्ट अनुसार संयुक्त जातीय मुक्ति मोर्चाले घटनाको जिम्मा लिएको बताए।

यसरी भयो विस्फोट
करिब सवा एक बजे भएको विस्फोटको ठूलो आवाज सिंहदरबारसम्म सुनिएको थियो। विस्फोटको आधा घण्टापछि काठमाडौं एसपी राजेन्द्र श्रेष्ठ घटनास्थल पुगेका थिए। उनी त्यहाँ पुग्दा एउटा महिला र एउटा पुरुष जस्तो देखिने दुई शव अलपत्र थिए। मान्छेको बबरमहल-सिंहदरबार आउने बाटोमा ओहोर-दोहोर चलिरहेको थियो। विस्फोटका कारण पार्किङ गरिएका केही मोटरसाइकलमा क्षति पुगेको छ। विस्फोट भएको आयल निगमको गेट दक्षिणतर्फ महालेखा परीक्षकको कार्यालय छ भने उत्तरतर्फ काठमाडौं जिल्ला अदालत रहेको छ।

घटनास्थलमा रहेका नागरिकन्युजकर्मी माधव ढुङ्गेलका अनुसार  घाइतेहरुलाई प्रहरीले उद्दार गरी अस्पताल लगेका थिए। नागरिकन्युजकर्मी दीपक दाहालका अनुसार विस्फोटमा घाइते भएका ५ जनालाई वीर अस्पताल भर्ना गरिएको छ।

घटनास्थललाई प्रहरीले घेराहाली अनुसन्धान गरिरहेको छ।  विस्फोट कुन समुहले गराएको भन्ने पहिचान हुन सकेको छैन। घटनास्थलमा प्रहरीले पहिचान खुल्ने कुनै सामग्री फेला नपरिसकेको नागरिकन्युजकर्मी केपी ढुंगानाले बताएका छन्।
Don't Miss
© all rights reserved
made with by netKUTI