काठमाडौँ फागुन १५ गते ।
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम -आईएफसी) नेपालमा जलविद्युत, बैंकिङ, पर्यटन तथा कृषि क्षेत्रमा लगानी गर्न इच्छु देखिएको छ । अर्थमन्त्री वर्षमान पुनसँग सिंहदरबारमा सोमबार भेटेका निगम प्रमुख लार्स एच थनेलले यस्तो इच्छा देखाउनुभएको हो ।
अर्थमन्त्रालयमा झण्डै एकघण्टा चलेको भेट वार्तामा त्यसमध्ये पनि जलविद्युतमा लगानी आफूहरुको पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय निजी क्षेत्र नेपालमा जलविद्युत, बैंकिङ, पर्यटन र कृषिमा लगानी गर्न चाहान्छ, त्यसमा पनि जलविद्युत पहिलो प्राथमिकता हो,’ भेटमा उहाँले भन्नुभयो, ‘लगानीका लागि वातावरण राम्रो बन्नुपर्छ ।’
प्रमुख थनेलले नेपाल एशियाकै पर्यटन केन्द्र बन्न सक्ने औंल्याउनुभयो । उहाँले नेपालको नेपालको घरजग्गा कारोबारमा आएको मन्दीका बारेमासमेत चासो राख्नुभएको थियो । सो अवसरमा अर्थमन्त्री पुनले नेपाली अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको बताउँदै सरकारले लगानीको वातावरण तयार गर्ने बताउनुभयो । ‘तपाईंहरूले महत्वपूर्ण सहयोग गरिराख्नुभएको छ, हामीलाई थप सहयोग गर्नुहोस्, तपाईंहरू नेपालमा लगानी बढाउनुहोस् हामी लगानी मैत्री वातावरण बनाउन तयार छौं,’ अर्थमन्त्रीले भन्नुभयो ।
मन्त्री पुनले घरजग्गा कारोबारमा सुधार आइरहेको बताउनुभयो । ‘घरजग्गा कारोबारमा समस्या थियो, विस्तारै सुधार आउँदै छ, हामीलाई विश्वास छ, घरजग्गामा भएको बैंकहरूको लगानी फिर्ता हुन्छ ।’