तनहुँ,
माघ २६-जिल्ला कारागार तनहुँमा बुधबार देखी क्षमता भन्दा १ सय बढि बन्दी भएका छन् । २५ जना क्षमता रहेको तनहुँ कारागारमा बुधबार २ थुनुवा थपिएपछि बन्दीको संख्या एक सय २५ पुगेको हो । तनहुँ कारागारमा भएको बन्दिको संख्या हाल सम्मकै सबैभन्दा धेरै भएको कारागार प्रमुख तिर्थ खनालले बताए ।
कारागारमा रहेका बन्दीहरु मध्ये कैद तोकिएका ५३ जना र कैद नतोकिएका ७२ जना रहेका छन् । क्षमता भन्दा १ सय जना बढि बन्दी हुँदा त्यहाँ रहेका बन्दीहरुलाई बस्न निकै समस्या भएको छ । सुत्ने ठाउँको अभावमा बन्दीहरु बाहिर खुला स्थानमा पाल टाँगेर सुत्न बाध्य भएको कारगार प्रशासनले जनाएको छ । बुधबार दिनभर परेको अबिरल बर्षामा बन्दीहरुले बाहिर पाल टाँगेर सुत्दा निकै समस्या भएको बन्दी नाइके प्रेम परियारले बताए ।
‘बाहिर सुत्न नसकी भित्रै कोचिएर बस्नु पर्ने अवस्था सृजना भएको छ ।’ उनले भने,‘ क्षमताको पाँचगुणाबढि बन्दी हुदाँ खान, बस्न, सुत्न सबै कुरामा समस्या भएको छ ।’ बन्दीहरुलाई सुत्न समस्या भएपछि केही समय अघि खुल्ला आकाशमुनी सुत्दै आएका बन्दीलाई इन्सेकले २ थान त्रिपाल प्रदान गरेको थियो ।
कारागार भित्र २ वटा मात्र शौचालय भएकाले आफुहरुलाई शौचालय जान बिहान ३ बजे देखी नै लाईन लाग्नु पर्ने बाध्यता रहेको परियारले बताए । बढि बन्दीहुँदा सुत्न, बस्नसँगै खानेपानी र सौचालयका लागि समेत समस्या भएपछि बन्दी स्थानान्तरणका लागि बारम्बार गृह मन्त्रालयलाई पत्राचार गरेपनि मन्त्रालयबाट प्रक्रिया अगाडी नबदेको तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले बताए ।इ तनहुँ