Responsive Ad Slot

latest

प्रसङ्गहीन प्रसङ्गहरु I

Wednesday, February 15

/ by Admin BHOLA THAPA
रामप्रसाद ढुंगेल
आज प्रसङ्गविनै म बगिरहेको छु । म के लेख्न बसेको हुँ र के लेख्दै छु मै अनभिज्ञ छु । यसो भनौ यो लेखनीको गन्तव्य छैन । निरुदेश्य, सारहीन शिरीषको फूलकी सकमबरीको जीवनझै छ मेरो मनोगत अवस्था र यो गनगन । मनमा धेरै कुराहरु तँछाममछाड गर्दै आउँछन् । सामुद्री किनारमा उठेका छालहरुझैं मेरा मनमा उठेका छालहरु उर्लेर आउँछन् अनि निस्क्रिय भएर जान्छन् । म मेरा सबै विचारहरुलाई च्याप्प समातेर राख्न असमर्थ छु ।
यो गनथन तयार पारिरहेको समय (२०११ अगस्ट २१) तसलिमा नसरिन नेपामा छिन् रे । मन हुर्र उडेर नेपाल पुग्छ । साहित्यका कृष्ण धराबासीको पछिल्लो कथा संग्रह‘ मेरी आमा’ को विमोचन कार्यक्रम उनैको हातबाट हुने रे । धराबासीले आफ्नो फेसबुक स्ट्याटसमार्फत सबैलाई निमन्त्रणा स्वरुप ललितपुरको खैके भन्ने मण्डलामा दिउँसो १ बजे उपस्थितिका लागि आग्रह गरेका थिए । म नेपालमा भएको भए अवश्य तसलिमालाई भेट्न जान्थें तर म कतारमा लगभग २ वर्षका लागि बेचिएको छु यसौ भनौं बन्दीझै भएको छु । तर पनि कोठामै रहेको तसलिमाको लल्जा उपन्यास आजैदेखि पढ्ने निधो गरेर आफैंले आफैलाई चित्त बुझाउने कोसिस गरें मैले ।
। एउटा सुखद संयोग मैले कतारमा अध्ययनको राम्रो वातावरण भने पाएको छु । छोटो अवधिमा डायमण्ड शमशेरको सेतो बाघ पढिसकेँ । नेपालको राजनीतिमा राणाहरुको उत्थान, पतन र जंगबहादुरको गुमनाम मृत्य, उनका छोरा जगतजंग तथा तत्कालीन राजकन्याको हत्याबारेको सनसनीपूर्ण कहानी रगिस्तानको भूमिमा पढ्न पाउनुलाई कमसेकम एउटा सानै भए पनि विजय नै ठानेको छु । त्यसरी नै प्रकाश कोविदको प्रेमोपन्यास दुई फूल एक भुल, डीएच लरेन्सको अश्लील भनी युरोपमा प्रतिबन्धित उपन्यास लेडी चटर्जीको प्रेमी, सुव सेनको इजरायली यात्रा संस्मरण, सेलिङ केसीका अप्रासङ्गिक गन्थनले भरिएको चीरशव कथा संग्रह । अरु पनि केके पढें पढें । यी विविध पुस्तक पढिसकेपछि गोविन्द भट्टको समालोचा अहिले पढिरहेको छु । केही विषयमा उनका तर्कले मेरो मन जिते पनि हरेक कुरालाई वर्गीय दृष्टिले हेर्ने प्रगतिशील साहित्यकारको लिंडेढिपीप्रति मेरो तीव्र असहमति छ । सामाजिक र आर्थिक पक्षमा वर्गीय कित्त्ता निर्धारण होला तर माया र प्रेमलाई पनि वर्गीयताका आधारमा विभाजन गर्न मिल्दैन जस्तो लाग्छ मलाई ।

यद्यपि, मलाई पुस्तकहरु प्रिय लाग्छन् । मलाई मात्र होइन, पुस्तकप्रेमी सबैलाई पुस्तकहरु आफ्ना प्रियजनझैं आत्मीय लाग्छन् । तर, पढ्ने बानीलाई प्रविधिको विकासले निकै पछाडि पारेको छ । पढ्नुको सट्टा टीभी हेर्छ मान्छे । नेटमा आफ्नाआफ्नीसँग बेपर्वाह च्याटिन्छ । मोजमस्तीमा समय, पैसा र स्वास्थ्य बिगार्न उद्यत् छ मान्छे हिजोआज ।

कतारको प्रवेशसँगै छोटो अवधिमा म विश्वको अनौठो घुम्ती मोबाइल पुस्तकालयको सदस्य बन्न पुगें । झोलाभरि साहित्यका पुस्तकहरु बोकी पाठकहरुलाई पढ्ने वातावरण उपलब्ध गराउने कतारमा कार्यरत नेपाली साहित्यलाई माया गर्ने मित्रहरु जैद्धा पार्क, नेसनल, मुन्ताजा पार्क यसो भनौं दोहाका गल्लीगल्ली घुमिरहन्छन् । त्यसैकारण मैले छोटो अबधिमा धेरै पुस्तक पढने अवसर पाएको हुँ । अहिले मलाई के अनुभव हुँदैछ भने विषय, क्षेत्र र विधा निर्धारण नगरी पुस्तक पढ्दा त अँध्यारोमा बाटो बिराएको यात्रीझै भइने रहेछ । अहिले म नेपालका पूर्व प्रधानमन्त्री मनमोहन भट्टराईले भनेको खालि दिमाग सैतानको घर भनेको पदावली स्मरण गरिरहेको छु । मैले मेरो रित्तो दिमागलाई उपलब्ध सबै पुस्तक पढेर सैतानको घर बनाउन त दिइनँ तर स्तरीय र स्तरहीन सबै पुस्तकहरु पढेर अन्योलको भुँमरीमा पार्दै डम्पिङ् साइट त बनाइनँ ? मेरो हिजोको विश्वासको धरोहर आज ढल्यो । हिजो जे सत्य थियो, आज झुट प्रमाणित भएको छ । हिजो जो चोर थियो, आज साधु भएको छ । हिजो जो आतंकवादी थिए, आज उही संरक्षणकर्ता भएका छन् । यस्तो लाग्छ कि सत्य र स्थायी भन्ने कुरा केही छैन धर्तीमा । सत्य सापेक्षमा मात्र सम्भव छ । यो निरपेक्ष हुनै सक्दैन । मैले भनेको सत्य तपाईलाई असत्य लाग्न सक्छ । यो स्वाभाविक हो । म गलत हुन पनि सक्छु र सही हुन पनि सक्छु । त्यसरी नै म अर्थात कुनै मान्छे सधैं असल र सधैं खराब हुनै सक्दैन रहेछ । मलाई थाहा छ कि तपाईं (पाठक)ले मेरो गनथन मन पराउनुभएको छैन । मेरो गनथनमा सिलसिला मिलेको छैन । यसमा कुनै नवीन शैली र शिल्प पनि छैन । तपाई मन नपरी भए पनि पढ्न बाध्य हुनुभएको छ । थोरै भए पनि तपाईकंो लगानी खेर गएकोमा तपाईलाई चित्त दुखेको छ । तर पढ्न विवश हुनुहुन्छ । लेखकको कामै लेख्ने हो । मैले मेरो धर्म निर्वाह गरें । सम्पादककहाँ पठाएँ । सम्पादकले पहिले पढ्यो । यसले पाठकहरुमा कस्तो प्रभाव, सन्देश र र शिक्षा दिन्छ भनी गम्यो ।
यो लेख तपाईसमक्ष यी विविध चरण पार गर्दै आइपुगेको हो । हाम्रो जीवन पनि यस्तै हुन्छ यही लेखझैं । उदेश्यविहीन, विशृङ्खल, बाध्यकारी, कष्टप्रद । कुनै लक्ष्यविना, सफलताविना दुःखहरु पिउँदै पनि त हामी जीवन जीउन बाध्य छौं । यहाँनिर आइपुग्दा मलाई भूपी शेरचनको याद आयो । मुलुकमा प्रजातन्त्र, मानवअधिकार, न्याय, समानता र स्वतन्त्रताका लागि प्राणोत्सर्ग गर्ने महान् सहिदहरुको वीरताको बयान गर्दै कविता रचना गर्ने भूपीले अर्को एउटा कवितामा लेखेका छन् ।
मैले पिएकोमा
मलाई पियक्क भन्नेहरु हो
पिएर त हेर
पिउन कति गाह्रो छ ।
मरेर सहिद हुनेहरु हो
जिएर त हेर
यहाँ जिउन झन् गाह्रो छ ।

जब एउटा बालकले कुनै माताको कोखबाट यो धर्तीमा जन्म लिन्छ, त्यसपछि उक्त बालकले सबैभन्दा पहिला थर पाउँछ नेपाली संस्कृति अनुरुप । त्यसको केही दिनपछि न्वारानमार्फत नाम पाउँछ । भलै हामी पहिले नाम लेख्छौं, अनिमात्र थर । यस्तो उल्टो परम्परा कहिलेदेखि सुरु भयो ? म इतिहासका ठेली पल्टाएर झन्झट बेहोर्न चाहन्नँ ।
नाम पाएपछि मातापिता आफन्तको साथ पाउँदै जब बालक हुर्कन्छ, उसले क्रमिक रुपमा आफ्नो नाम आफै भन्न थाल्छ । बुबाआमाको नाम सिक्न थाल्छ । आफू बसेको गाउँको नाम सिक्छ । समाजबाट आवश्यक अनावश्यक कुरा सिक्दै बालक हुर्कन्छ । बालक जब किशोर, युवा हुँदै परिपक्व बन्दै जान्छ, उसको सिक्ने क्षमताअनुरुप उसले देश, काल र परिस्थिति सिक्दै जान्छ । सिक्ने क्रममा उसले वर्ग सिक्छ । समाज, समुदाय, धनीगरिब, सानोठूलो विविध कुराहरु सिक्दै जान्छ ।
यी कुराहरु सिक्न विद्यालय जानुनै पर्छ भन्ने छैन । होला, विद्यालयमा असल गुरुहरु पाएको खण्डमा उसले समाज र जीवनलाई केही छिटो बुझ्ला तर असल गुरु पाउन मुस्किल नेपाली समुदायमा मानिस पढेर भन्दा परेरै धेरै कुराहरु सिक्दै जान्छ । त्यसैले कि पढेर कि परेर जानिन्छ भन्ने नेपाली उखान मिथ्या लाग्छ मलाई । मेरो बुझाइमा पढेरभन्दा परेरचाहिँ छिटो जान्न सकिन्छ । यहाँनेर मलाई विजयकुमारको भनाइ साभार गर्न मन लाग्यो कि नेपालमा टिचरहरु पढाउनदेखि बाहेक अरु सबै कुरामा सिपालु छन् अनि डक्टरहरु डाक्टरीबाहेक अन्यमा विज्ञ हुन्छन् । बीस वर्ष शिक्षण गरेका एक जना शिक्षकले बल्ल मैले पढाउने तरिका जानें तर म बूढो भएँ, चाहेर पनि शिक्षण गर्न सक्दिनँ भनेको स्वीकारोक्ति र भरतपुरको क्यान्सर अस्पतालमा घाँटीको शल्यक्रिया गर्न भर्ना भएकी एक महिलाको पाठेघर फालिएको समाचार सुन्दा भने विजयकुमारको भनाइ सही लाग्न थालेको छ । तपाईलाई चाहिँ यो गनथन पढिसक्दा कस्तो लाग्यो ?

समाप्त
ram_3098@yahoo.com



Don't Miss
© all rights reserved
made with by netKUTI