लम्जुङ माघ २२ गते ।
नेकपा एमाले लमजुङले बेसीसहर खानेपानी उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेको छ । खानेपानी उपभोक्ता समितिले म्याद थप नगरी निष्काशन गरिएका कर्मचारीको पुर्नबहालीको माग गर्दै आएको एमालेले आइतबार दिउसो कार्यालयमा तालाबन्दी गरेको हो ।
नेकपा एमाले बेसीसहर नगर संगठन कमिटिको आयोजनामा सदरमुकाम बेसीसहरमा भएको प्रर्दशनपछि खानेपानी कार्यालयमा पुगी तालाबन्दी गरिएको हो । नेकपा एमाले लमजुङका अध्यक्ष जमिन्द्रमान घले सहितका नेता कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गर्नुको साथै अध्यक्ष कृष्णबहादुर अधिकारीको कुर्ची र नामप्लेट जलाएका छ ।
अध्यक्षको राजिनामा, निश्कासन गरिएका ५ जना कर्मचारीको पुर्नबहाली र कार्यालयमा भएका अनिमियतताको छानविनको माग गर्दै चरणबद्ध आन्दोलनमा निश्किएको एमालेले आइतबार पहिलो दिन कार्यालयमा तालाबन्दी र अध्यक्षको कुर्ची जलाएको हो ।
एमालेले २३ गते सोमबार मानवअधिकारबादी संघसंस्थाहरुसँग छलफल गरि विषयलाई राष्ट्रियकरण गर्ने, २४ गते खानेपानी उपभोक्ता समितिमा कार्यरत कर्मचारीहरुसँग एक्यबद्धताका लागि छलफल गर्ने, २५ गते सांकेतिक चक्का जाम गर्ने, २८ गते खानेपानी उपभोक्ता समितिले आयोजना गरेको साधारणसभामा अबरोध गर्ने र २९ गते दलित, युवा, विद्यार्थी र महिलाको विरोध कार्यक्रम गर्ने कार्यक्रम राखेको छ ।
बेसीसहरको मनाङ्गेचौताराबाट निस्कीएको एमालेको जुलुस शेराबजार घुमेर भिमसेनस्थान चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभा हुनुअघि जुलुसले खानेपानी कार्यालयमा पुगी तालाबन्दी गर्नुको साथै अध्यक्षको कुर्ची सडकमा ल्याएर जलाएको थियो । मनाङ्गेचौताराबाट शेराबजार हुँदै नारायणस्थानचोकसम्म आइपुग्दा अघिपछि पहरा दिएर हिँडेका सुरक्षाकर्मीहरु खानेपानीमा तालाबन्दी गर्दा र कुर्ची जलाउँदा भने प्रहरीको उपस्थिति थिएन् ।
जुलुस प्रर्दशनपछि भिमसेनस्थानचोकमा आयोजित कोणसभालाई संबोधन गर्दै नेकपा एमाले बेसीसहर नगर संगठन कमिटिका संयोजक गुमानसिंह अर्यालले खानेपानीबाट बर्खास्त गरिएका कर्मचारीको पुर्नबहाली, संस्थामा भएको आर्थिक अनियमितताको छानविन र अध्यक्षको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताउनुभयो ।
उहाँले बहुमत सदस्यहरुले विशेष साधारणसभा बोलाउन गरेको मागलाई लत्याएर विशेष साधारणसभा नबोलाउने र यसअघि भएका युवाहरु, आदिवासी जनजाति र कर्मचारीहरुको आन्दोलनलाई बेवास्था गर्ने काम भएको भन्दै काँग्रेसका जिल्ला सदस्य समेत रहनुभएका ब्यक्तिको यस्तो कामलाई हेर्दा काँग्रेसलाई कसरी प्रजातान्त्रिक भन्न सकिन्छ भन्ने प्रश्न गर्नुभयो ।
नेपाली काँग्रेसले समाजमा कस्तो प्रजातान्त्रि पद्धती सिकाउन खोजेको हो भन्ने प्रश्न गर्दै अर्यालले काँग्रेसले प्रजातन्त्र, लोकतन्त्र र न्यायका कुरा अब राप्रपा नेपालसँग सिक्नुपर्ने बेला आएको बताउनुभयो ।
यता खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर अधिकारीले अहिलेसम्म ब्यबस्थीत रुपमा चलिरहेको स्वयत्त संस्थालाई भत्काउनेगरि एमालेले गरेको यस्तो कदमका बारेमा सबै पक्ष गम्भिर बनेको बताउनुभयो । दलको झण्डा बोकेर सामाजिक संस्थामा भैरहेको कामलाई अबरोध गर्ने काम नराम्रो भएको उहाँको प्रतिक्रिया थियो ।
कार्यालयमा भएको तालाबन्दीको विरुद्धमा काँग्रेसका युवाहरुले पनि प्रतिवादमा उत्रने चेतावनी दिएकाले यसले झन विवाद र झैझगडा मात्र बढाउने चेतावनी दिनुभयो ।
समितिका अध्यक्ष अधिकारीले उपभोक्ताबाट उठाएको रकमबाट अन्नपूर्ण शुद्धखानेपानी उद्योग दर्ताको नामसारी गरी संस्थाको रकम दुरुपयोग गरेको र बेसीसहर दुइथोकमा बाटो खन्दा रकम हिनामिना गरेको भन्ने आरोप निराधार रहेको बताउनुभयो ।