काठमान्डौ,
फाल्गुन ३ गते ।
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि बस्दै छ । तीन दिनसम्म चल्ने बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद्को तयारी, विभिन्न विभागले परिषद् बैठकमा प्रस्तुत गर्ने प्रतिवेदन पारित, केन्द्रीय कमिटी मनोनयन, आन्तरिक एकता प्रस्ताव, पछिल्लो राजनीतिक अवस्थामा र आठौं महाधिवेशनपछि पार्टीले निर्वाह गरेको भूमिकाको समीक्षा लगायतको विषयमा छलफल हुने छ । बैठकमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनका आधारमा सबै विषयमा छलफल केन्द्रीत हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बिहान ११ बजे केन्द्रीय कार्यालय बल्खुमा सुरु हुने बैठकमा सङ्घीय मामिला विभागले तयारी पारी हिजो बुझाएको राज्यको पुनःसंरचनाको खाकाका सम्बन्धमा पनि छलफल हुनसक्ने ज्ञवालीले सीआईएनलाई बताउनुभयो ।
विभागले तयारी पारेको राज्य पुनःसंरचनासम्बन्धी प्रतिवेदनलाई एमालेका जनजाति नेताहरूले भने कुनै अर्थ नभएको बताएका छन् । पोलिटब्यूरो सदस्य पृथ्बी सुब्बा गुरुङले हिजो सार्वजनिक गरिएको प्रतिवेदन सामान्य सुझाव मात्रै भएको र त्यसलाई स्वीकार गर्न नसक्ने भएकोले आफूहरूले केन्द्रीय कमिटीको बैठकमा कुरा उठाउने बताउनुभयो । एमाले सङ्घीय मामिला विभागले ८ र १२ प्रदेशको विकल्पसहित राज्य ःपुनःसंरचनाको खाका तयार पारेको छ ।