आश गुरुङ, लमजुङ, माघ २२ गते ।
लमजुङ सदरमुकाम वेसीशहरस्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ५ जना कर्मचारीलाई निस्कासन गरेपछि यसको विरोधमा राजनीतिक दलले समेत आन्दोलन थालेकाछन् ।
आन्दोलनको पहिलो चरणस्वरुप आज आईतवार नेकपा एमाले वेसीशहर नगर संगठन कमिटीले खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर अधिकारीको कुर्ची जलाएकाछन् ।
अध्यक्ष अधिकारीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका एमाले समर्थितहरुले कार्यालयमा गएर कुर्ची र नामप्लेट ल्याई भीमसेनस्थान चोकमा ल्याएर जलाएका थिए । उनीहरुले खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेकाछन् ।
खानेपानी अध्यक्षले विधान बिपरित उपभोक्तावाट उठाएको रकमवाट खानेपानी उद्योगको नामसारी गरेको, विना कारण संस्थामा रहेका आदिवासी जनजाति, दलित, महिला, एकल महिला र अपांगता भएका ५ जना कर्मचारीलाई निस्कासन गरेको एमालेले जनाएको छ ।
अन्याय भएको जुनसुकै संस्था र ठाउँमा त्यसका विरुद्ध एमाले उभिने वताउँदै एमाले वेसीशहर नगर कमिटीले खानेपानी उपभोक्ता समितिका अध्यक्ष अधिकारीको राजीनामा नआउँदासम्म आन्दोलन जारी राख्ने जनाएको छ । एमालेले आन्दोलन जारी रहँदा सम्म अन्य कर्मचारीलाई मिटर रिडिङ नगर्न समेत आग्रह गरेको छ ।
यसैगरि एमालेको नेतृत्वमा भोलि सोमवार २३ गते मावनअधिकारवादी संघसंस्थासंग छलफल र विषयलाई राष्ट्रियकरण गर्ने, २४ गते खानेपानी कार्यालयका अन्य कर्मचारीहरुसंग एक्यबद्धताका लागि छलफल गर्ने, २५ गते सांकेतिक चक्काजाम गर्ने, २८ गते साधारण सभा अवरोध गर्ने र २९ गते दलित, युवा, विद्यार्थी र महिलाको विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।
यसैगरि, आफ्ना जनजाति कर्मचारीलाई निकालिएको विरोधमा आदिवासी जनजाति महासंघ समन्वय परिषद् लमजुङले पनि आफ्ना आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आगामी फागुन १ गतेदेखि अनिश्चितकालीन लमजुङ बन्दको घोषणा गरेको छ ।
खानेपानी समितिले विना कारण पूर्वाग्रही भएर कम्प्युटर अपरेटर सहज कुमार घले, मिटर रिडर निर्मला अधिकारी, डिलमाया खत्री, चौकीदार रेशम बहादुर क्षेत्री र हरिबहादुर विकलाई हटाएपछि कर्मचारीहरु मंसिर २२ गतेदेखि आन्दोलनमा उत्रिएकाछन् । कर्मचारीको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै आदिवासी जनजाति महासंघ, युवा र विद्यार्थी महासंघ हुँदै १ महिनापछि नेकपा एमाले वेसीशहर नगरकमिटीले समेत आन्दोलन थालेका हुन् ।