मीना थापा मगर
पोखरा माघ २१-नेपाल मगर संघ माटेपानी इकाई समितिको सत्रौं साधारण सभा सम्पन्न भएको छ । नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरको प्रमुख अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सचिव आनन्द राना मगरले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नरेश आले मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
यसै अवसरमा नेपाल मगर महिला संघ माटेपानी इकाई समितिद्धारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन पनि पारित गरियो । महिला समितिका सचिव पूर्णिमा श्रीम मगरले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष डुनमाया थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभाका प्रमुख अतिथि राना मगरले कास्की जिल्ला भित्रको ३२ इकाई समिति मध्ये लामो समयदेखि आफ्नो छुट्टै इतिहास कायम गरेको भन्दै माटेपानी इकाइ समितिलाई समाज परिवर्तनको लागि अझ रचनात्मक कार्यद्धारा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले देश परिवर्तित संघारमा रहेता पनि मगर जातिमा चेतनामा परिवर्तन हुन नसकेको कुरा औल्याउँदै समाजमा विद्यमान विसंगति, विकृतिलाई हटाउँदै सामाजिक, शैक्षिक, सांस्कृतिक, भाषिक चेतनातर्फ जागरुक हुनु आजको आवश्यकता हो भन्नुभयो ।
वक्ताहरुले समाज तथा देश विकासका लागि युवा वर्गलाई सिर्जनशिल बनाउन र प्रयाप्त तालिम उपलब्ध गराउनु आजको आवश्यकता रहेको कुरामा जोड दिएका थिए । माटेपानी इकाई समितिमा हालसम्म १०२ घरधुरीका ७ सय साधारण सदस्य रहेको र पोखरा उपमहानगरपालिका वडा नं. १०, ११, १२ र १३ लाई समेटिएको समितिका अध्यक्ष डिलबहादुर श्रीस मगरले सो अवसरमा जानकारी दिनुभयो ।