रवि रोषी
दोहा -नेपाल लगायत तेश्रो मुलुकमा प्रदर्शन भई प्रशस्त ख्याति कमाएको चलचित्र लुट अब कतारको बजारमा पनि प्रदर्शन हुने भएको छ । पुराना कथा शैली र पुरानै ढाँचामा मात्र चलचित्र निर्माण हुँदै आएपछि नेपाली चलचित्र प्रेमीहरुलाई नेपाली चलचित्र प्रति नै मोह घट्दै गएको अवस्थामा भिन्न कथा लिएर आएको लुटले काठमाण्डौँमा राम्रै लुट मच्चाउन सफल भएको छ । युवा बर्गहरुलाई लक्ष्यित गरी बनाईएको उक्त चलचित्रको निर्देशन भने निश्चल बस्नेतले गरेका छन् ।
काठमाण्डौँको चलचित्र बजारमा भारतीय चलचित्रले एकछत्र राज गरेको अवस्थामा लुटको प्रदर्शनले भर्खरै मात्र रिलिज भई प्रदर्शनमा आएको हिन्दी कथानक चलचित्र अग्निपथ काठमाण्डौँ बाट एक हप्तामा नै बाहिरीन पुग्यो । काठमाण्डौँबाट एक हप्तामा नै अग्निपथलाई रिङआउट गर्न सफल भएपछि चलचित्र लुट हेर्नेको संख्यामा अकस्मात बृद्धि भएको कुरा फोन वार्तामा काठमाण्डौँबाट निर्देशक निश्चल बस्नेतले बताए । हामीले अष्ट्रेलियाको २ वटा शहरमा मात्र प्रदर्शन गर्ने लक्ष्य लिएर प्रदर्शनीको लागि गएका थियौँ , सिड्नी, मेलबर्न, गोल्डक्वोस्ट, डार्विनमा पनि त्यसको माग भएको हुनाले अष्ट्रेलियामा नै यो चलचित्रले धेरै बजार जमाउन सफल भयो । हङकङ, डेनमार्क मा समेत प्रदर्शन भईसकेको उक्त चलचित्र मार्च ४ मा अमेरिकामा प्रिमीयर शो हुने भएको छ भने मलेशिया, दुवईबाट पनि यसको माग तीब्र भईरहेको निर्देशक बस्नेतले जनाए ।
हाल कतारमा आगामी मार्च २३ तारिखको दिन प्रदर्शन गर्न लागिएको चलचित्र लुटको प्रदर्शनी लक्ष्मण खतिवडाले गर्न लागेका छन् भने सहयोगी संस्थाको रुपमा स्याङ्जा सहयोग समाज रहेको छ । चलचित्र लुटको प्रोमोशनको लागि नेपालबाट निर्देशक निश्चल बस्नेत र नायिका ऋचा शर्मा आउने भएका छन् । निश्चल बस्नेतको लेखन तथा निर्देशन, माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माणमा बनेको चलचित्र लुटमा सौगात मल्ल, कर्म दयाहाङ राई , प्रतीकराज न्यौपाने, सुशिल राज पाण्डे । प्रवीण खतिवडा, ऋचा शर्मा, सिर्जना सुव्वाको अभिनय रहेको छ । थोरै मात्र भूमिका भएपनि आफ्नो अभिनय जबरदस्त रहेको दावी गर्ने नायिका ऋचा शर्माले फोन मार्फत जानकारी गराईन् , कतारका नेपाल चलचित्र प्रेमी दर्शकहरुसंग बसेर चलचित्र हेर्न म पनि कतार आउँदैछु ।