रवि रोषी
दोहा कतार फागुन १५ गते ।
कतारको आरम्भ नाट्य डबलीले नेपाली नयाँ बर्ष २०६९ को अवसर पारेर कतारमा नयाँ बर्ष शुभकामना साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त नयाँ बर्ष शुभकामना साँझ नामक मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रममा नेपालबाट विभिन्न विधाका १० जना कलाकारहरु आउने भएका छन् ।

नेपालबाट आउने कलाकारहरुमा नेपालका ख्यातिप्राप्त गायक दिपक लिम्बु, नायिका नम्रता श्रेष्ठ, मेरी बास्सैका हास्य कलाकार ज्योति काफ्ले, लोक गायक मिलन लामा, गायिका तथा कार्यक्रम सञ्चालिका मञ्जु पौडेल, मोडल तथा नृत्यांगना सम्झना बुढाथोकी, लोक गायिक जमुना थापा मगर, गजल गायक डिजराज पौडेल तथा कल्याण आले र नायक विष्णु कार्की रहेका छन् भने कतारबाट गेष्ट सिंगरको रुपमा भारतीय नागरिक लिला कुदेशियाले पनि विभिन्न नेपाली गीतहरु गाउने भएकी छिन् ।
उक्त कार्यक्रमको संयोजनमा आरम्भ नाट्य डबलीकी रेखा राई रहेकी छिन् भने व्यवस्थापकमा कवि राज सुवेदी तथा लाल भट्ट रहेका छन् । आगामी अप्रिल १२ र १३ तारिख दोहाको ड्रिम पार्कमा प्रदर्शन गरिने कार्यक्रमबाट आएको केहि रकम कतारको फिर्ती केन्द्रमा रहेकाहरुको सहयोगको लागि प्रदान गरिने कुरा आरम्भ नाट्य डबलीका उद्धव राईले बताए ।