Responsive Ad Slot

latest

म स्पोन्सरको घरबाट यसरी भाग्न सफल भएँ । (माया तामाङ) I

Wednesday, February 29

/ by Admin BHOLA THAPA
मेरो नाम माया तामाङ हो । सिन्धुपाल्चोक जिल्ला महांकाल गाविस वडा नं. ४ मेरो घर हो । मैले १० कक्षा सम्म मात्र अध्ययन गरेकी छु । मेरो घरमा २ जना दिदी र एक भाईको साथमा बुवा आमा पनि हुनुहुन्छ । म करीब २० महिना अघि गाउँको २ जना साथीहरु संग कतार जाने कुरा घरमा बुवा आमा र दीदीहरुलाई बताएकी थिएँ । मेरो बुवा आमाले मलाई कुनै पनि हालतमा कतार काम गर्न पठाउन मञ्जुर नहुँदा पनि आफ्नै जिद्यीले म मेनपावरमा ९५ हजार बुझाएर कतार आएकी थिएँ । विदेशमा गएर धेरै पैसा कमाए पछि आफ्नै पैसाले राम्रो घर बनाउँछु र बिहे गर्छु भनेर म कतार आएकी थिएँ । म संगै आएका २ जना गाउँका साथीहरु मेडिकल फेल भएपछि त्यहि बेलामा नै उनीहरु नेपाल फर्किएका थिए । त्यसपछि म एक जना कतारीको घरमा काम गर्दै आएँ । १८ बर्षकी मलाई त्यो घरको काम आधारात सम्म गर्नु पर्दा मैले बुवा आमाले कतार जान हुन्न भनेर सम्झाएको झलझली सम्झिँदै र रुँदै ६ महिना त्यो कतारीको घरमा बिताएँ ।
६ महिनापछि त्यो कतारीले मलाई सेनेगलको एकजना महिलाको घरमा काम गर्न पठाए । काडिस्ट नाम गरेकी ति महिलाले मलाई उनको घरमा लिएर गएपछि नयाँ घरको काम गर्न थालेँ । मेरो काम र मेरो शीलस्वभाव देखेर सेनेगलको ति महिलाले मलाई छोरी जस्तै माया गर्न थालिन् । मलाई महिनाको कतारी रियाल ८०० भनेर ल्याए अनुसारको भन्दा पनि धेरै पैसा ति महिलाले मलाई दिने गर्थिन् । मैले कमाएको सवै पैसा बुवाको नाममा पठाईसकेकी छु । छोरीको कमाई खानु हुँदैन भनी मेरो बुवाले मेरो कमाई एक पैसा पनि घर खर्च नगरी बैँक खातामा जम्मा गरिदिने गर्नुभएको थियो । मेरो आनीवानी बाट प्रभावित भएर उनीले मलाई अझ धेरै माया गर्न थालिन् । पहिले मैले उनको लत्ताकपडा धुनुपथ्र्यो भने पछि उनले उनको लुगा त परै जावोस् मेरो कपडाहरु समेत उनीले धुन थालिन् ।
आफ्नै छोरीलाई झैँ दिनहुँ मेरो कपाल उनीहरुले रातो धागो ३ चुल्ठी बाटेझैँ बाटेर सधैँ सिंगारेर माया गर्न थालेकी थिइन् ।
 उनले गरेको मायाले गर्दा मैले आफ्नो बुवा आमाको मायालाई पनि विर्सन थालेकी थिएँ । पछिका दिनहरुमा मैले त्यो घरमा खाना समेत पकाउनु नपर्ने भयो । मलाई ति महिलाले छोरी जस्तै माया गर्ने गरेको र भनेको तलव भन्दा धेरै पैसा पनि दिने गरेको अनि आफुले रोजी रोजी कपडा पनि किनीदिने कुरा बताउने गरेको कुरा मेरो स्पोन्सरलाई केहि समय अगाडि फोन गर्दा बताएकी थिएँ । मेरो स्पोन्सर फेब्रुअरी २७ तारिखको साँझमा सेनेगल महिलाको घरमा आएर मलाई फोन गरेर बोलायो । म बाहिर निस्कीएपछि उसले अब त्यो घर छोडेर त्यति बेला नै उसको घरमा जानुपर्छ भनी जिद्यी गर्न थाल्यो । मैले राति उसको घरमा नजाने निर्णय म पहिला काम गर्दै आएको घर मालिकलाई बताएँ । त्यसपछि उसले मलाई म काम गर्ने त्यहि महिलाको अगाडि नै समातेर गाडीमा हाल्ने प्रयास गर्यो ।
उसले मलाई समाउन खोजेपछि घर भित्र पस्नुपर्नेमा आत्तिएर बाटो तिर निस्कीएर दौडिन थालेछु । उसले गाडी स्टार्ट गरेर मेरो पिछा गर्न थाल्यो र सेनेगलकी ति दिदीले त्यसो नगर्न अनुरोध गर्दा पनि मलाई समातेर आफ्नो गाडीमा राखेर आफ्नो घरमा लिएर गयो । मैले त्यो दिन विहान खाना पनि खाएको थिईनँ । मलाई माया गर्ने ति महिला आएपछि मात्र खान्छु भनी बसेको बेलामा उसले आफ्नो घरमा घिसार्दै लिएर गयो र कोठा भित्र लगेर हातले मात्र नभई लात्ताले पनि पिट्न थाल्यो । कम उमेरकी मैले उसको यातना सहन सकुूञ्जेल सहँदै आएँ । जब धेरै पिडा हुन थाल्यो त्यसपछि म बेस्सरी रुन थालेँ । उसले पिट्न
छाडेपछि मलाई खाना नदिएपनि पानी खान देउ भनेर मागेँ । तर त्यो घरमालिकले मलाई पानी दिनुको सट्टा बाहिरबाट ढोकाको चाबी लगाएर सुत्न गयो । राति मलाई कुनै पनि बेलामा आएर आक्रमण गर्न सक्ने डरले रातभरि नसुती रात बिताएँ । बिहान करीब ४ बजे म सुत्ने कोठाको झ्याल खुल्ला देखेपछि त्यहि घरको झ्यालबाट हाम्फालेर अरुकै सहयोगमा सोध्दै नेपाली दुतावासमा आएँ । विहानै दुतावासमा आउँदा दुतावास नखुलेको हुनाले म दुतावासको गेट नखुलुञ्जेल गाडीको छेल परेर लुकेर बसीरहेँ । मैले आफ्नो कुरा दुतावासमा बताएँ र मलाई छोरी जस्तै माया गर्ने सेनेगलकी त्यहि महिलालाई बोलाएँ । उनी सोध्दै खोज्दै नेपाली दुतावासमा मलाई भेट्न आईन् । दुतावासमा उनले मलाई रिलिज पेपर दिलाएर आफु संग राख्न सहयोग गरिदिन दुतावासमा कुरा राखिन् । कतारी स्पोन्सरको ईच्छा विपरीत आफुले केहि पनि गर्न नसक्ने भएपछि मेरो स्पोन्सरलाई दुतावासबाट फोन गरी बोलाईयो । रिलिज दिन अनुरोध गर्दा स्पोन्सरले नमाने पछि मेरो बाँकी तलव दिएर नेपाल फिर्ता पठाउन अनुरोध गरियो । स्पोन्सरले मैले लगाउने सम्पुर्ण लत्ताकपडाहरु र बाँकी तलव ल्याएर दुतावासमा नै दियो । म काम गर्दै आएको दिदीले मलाई २ महिनाको तलब सहित ४ हजार ४ सय रियाल दिएर उनी दुतावास बाट गईन् । त्यो कतारीले टिकट तुरुन्त ल्याएर दिने बाचा गरेर गएपछि मलाई छोरीको जस्तै माया गरी मेरो कपडा धोइदिने तथा मेरो कपाल दिनहुँ कोरिदिएर सिंगारिदिने आमाको माया दिने तिनै दिदीलाई सम्झेर धेरै रोएँ । आखिर मलाई आफ्नो घर त जानु नै थियो । अब म जति सक्दो छिटो नेपाल जानुपाए हुन्थ्यो भनेर टिकटको पर्खाईमा दुतावासमा बसिरहेकी छु ।
Don't Miss
© all rights reserved
made with by netKUTI